पोखरा : काठमाण्डौंको न्यूरोडस्थित लक्ष्मी सुनचाँदी पसलबाट ठुलो परिमाणको सुन र चाँदीका गहना चोरेर फरार युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी रुम गाविस–३ घर भई हाल पोखरा १ सिम्पानी बस्ने २३ बर्षिय चिरञ्जीवी पुन रहेका छन् ।
गत १२ गते काठमाण्डांै बानेश्वर घर भएका साहुजीको पसलबाट ९३ तोला सुन र ५७ तोला चाँदीका गरगहना चोरेर फरार गिरोहका सदस्य गत बुधबार पृथ्वीचोकबाट पक्राउ परेका थिए ।
यसैगरी प्रहरीले काठमाडौंबाट म्याग्दी रुम गाविस–३ का दिलिप पुन भन्ने दिलबहादुर पुन र नुवाकोट महाकाली-९ का उमेश तामाङ्गलाई पनि समातेको छ ।
अभियुक्तहरु चार महिनाअघि डाकाचोरी मुद्वामा २ वर्ष कैद सजाय भुक्तान गरी कारागारवाट निस्केका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए ।
पालले अभियुक्तहरुले चोरीका गहना वेचिसकेपछि पोखरा–९ न्यूरोडको कामना ज्वेलर्स, न्यू बेगनासताल सुनचाँदी पसल र सागर ज्वेलर्समा चोरि गर्ने योजना बनाएका अनुसन्धानबाट खुलेको बताए ।
‘पोखराको कामना ज्वेलर्समा तत्काल चोरी गर्ने योजना बनाएका रहेछन,’ उनले भने ‘काठमाडौंमा चोरेर फरार चोरहरु पोखरामा आएको हुनसक्ने अनुमानका आधारमा खोज्दैजाँदा अभियुक्तहरु फेला परे ।’
चिरञ्जीवीकै सूचनाको आधारमा प्रहरीले दिलबहादुर र उमेशलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दिलिपले पोखरा १ टुँडीखेलको राष्ट्रिय उच्चमाविमा १२ कक्षामा पढ्ने चिरञ्जीवीलाई काठमाडौंमा काम मिलाई दिन्छु भनेर बोलाएको र उनी त्यहाँ पुगेको दिन उक्त सुन चाँदी पसलमा रेकी गरी पुरानो बसपार्कस्थित होटलमा आएर वसेका अनुसन्धानबाट खुलेको छ ।
गिरोहले तीन दिनसम्म सुन पसलका साहुजीको सवारी नं. पत्ता लगाएर त्यसलाई पछ्याउँदै घरसम्म पुगेको प्रहरीलाई बयान दिएको छ ।
केहि दिनअघि चिरञ्जीबी साहुजीको घरमा डेरा माग्न गएको छैन भनेपछि साहुबस्ने कोठा निगरानी गरेर फिर्ता भएको अभियुक्तहरुले बताएका छन् ।
गत १२ गते साँझ ७ बजेतिर बानेश्वरको साहुको घर नजिकै बन्दै गरेको घरमा लुकेर राति ११ बजे डोरी, काठ र फलामको टुक्रा लिई दिलिप र उमेश शौचालयको बाटो हुँदै घरभित्र पसेर साहुको कोठमा रहेको ३८ हजार रुपयाँ पसलको चावी र कारको साँचो चोरी गरी ल्याएको प्रहरीलाई बयान दिएका छन ।
चोरेपछि ट्याक्सी चढेर बिर अस्पतालमा झरेर पैदलै न्यूरोड गेट हुँदै पसलमा गई उमेश र दिलिपले सटरको चावी खोलेर भित्रका सुनका गहना चोरी गरेका र चिरिञ्जीवीले बाहिर निगरानी गरेर बसेका बताएका छन् ।
चोरी पछि बिर अस्पतालमा पुगेर चिया खाँदै रात बिताएपछि बिहान ट्याक्सी चढेर नयाँबसपार्क गई ७ बजेको गाडी चढेर पोखरा आएको बयान दिएका छन ।
त्यसपछि लेकसाइडको एक होटलमा एक रात बसेर चिरञ्जीवीको पोखरा–१ सिम्पानीस्थित डेरामा आएर एक हप्ता बसेका बताएका छन् ।
काठमाण्डौंको न्यूरोड बाट सुन चोरेर फरार युवकलाई प्रहरीले पोखरा मा पक्राउ
0 comments
Write Down Your Responses