एजेन्सी, दमास्कस ।
इस्लामिक स्टेट (आइएस) इजरायलबाहेक अन्य कुनै मुलुकसँग नडराउने एक पत्रकारले बताएका छन् । आइएस नियन्त्रित भूमिमा पुगेर पनि बाँचेका पश्चिमी पत्रकार यर्गन टोडेनहोफरले आइएस डराउने एउटै मात्र देश इजरायल भएको दाबी गरेका हुन् ।
‘जेविस न्युज’लाई दिएको अन्तर्वार्तामा यी जर्मन संवाददाताले आइएसले निशाना बनाएको मध्यपूर्वी मुलुकको सूचीमा इजरायलको नाम नभएको बताए । गत वर्ष उनी १० दिन इस्लामिक स्टेटमा बसेका थिए । आइएस बसाइका क्रममा उनले यस्तो निष्कर्ष निकालेका हुन् ।
‘आइएस डराउने एउटै मात्र देश इजरायल हो । बलियो इजरायली सेनासँग लड्नु उनीहरूका लागि कठिन चुनौती हो । यस्तो कुरा मैले उनीहरूबाटै सुनेको हुँ,’ उनले भने, ‘उनीहरूलाई लाग्छ उनीहरू अमेरिका र बेलायतका स्थलसेनालाई हराउन सक्छन् । यी दुवै देशसँग गुरिल्ला र आतंकवादी नीतिको अनुभव छैन ।’
‘तर, उनीहरूलाई थाहा छ इजरायलीहरू निकै बलिया छन् । उनीहरू गुरिल्लाको सामना गर्न सक्छन्,’ उनले अगाडि थपे । उनले भेटेका आइएस लडाकुहरूले आफूहरू बेलायती वा अमेरिकी सेनासँग नडराएको बरु इजरायल डिफेन्स फोर्स ‘वास्तविक खतरा’ भएको बताए ।
गत अक्टोबरमा सार्वजनिक भएका प्रोपोगान्डा भिडियोहरूमा आइएसले इजरायली र यहुदी समुदायलाई धम्की दिएको थियो । ‘हामी जेरुसलेममा एकजना पनि यहुदीलाई बाँकी राख्दैनौँ । हामी यहुदी रोगलाई विश्वबाट निर्मूल गर्ने कसम खान्छौँ,’ भिडियोमा भनिएको थियो ।
आइएससँग सम्बन्धित समूहहरू गाजामा सक्रिय भएको विश्वास गरिए पनि इजरायल र उसले नियन्त्रणमा लिएको प्यालेस्टिनी भूमिमा हालसम्म उसले कुनै पनि हमलाको जिम्मेवारी लिएको छैन ।
टोडेनहोफरले अल–कायदा आइएसको तुलनामा ‘केराउ’जत्रो पनि नभएको बताए । उनले मोसुलमा आइएसका अधिकारीहरूसँग भेटेको पनि दाबी गरे ।
‘उनीहरू मलाई आइएसले कसरी काम गरिरहेको छ भन्ने देखाउन चाहन्थे,’ उनले भने, ‘मैले सोचेको थिएँ म हिंस्रक आतंकवादी समूहलाई भेट्दै छु, तर मैले त्यहाँ हिंस्रक देश देखेँ ।’
इराक र सिरियामा जारी अमेरिकी नेतृत्वको हमलामा इजरायलको सहभागिता छैन ।
आइएस डराउने एउटै मात्र देश इजरायल !
0 comments
Write Down Your Responses