नयाँ बजार नजिकैको जंगलमा कालो प्लास्टिकमा नवजात शिशुको शव फेला

सृष्टि सुनुवार, सोलुखुम्बु, २९ मङ्सिर, सोलुखुम्बु सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको जंगलमा फेरी अर्को नवजात शिशुको शव फेला परेको छ । सोमबार विहान साढे ८ बजे जंगलकोबीचमा कालो प्लास्टिकमा शिशुको वेवारिसे  शव भेटिएको हो ।विहान

पत्कर सोर्ने क्रममा नयाँ बजारकी स्थानीय कमला राई र उनका श्रीमानले बच्चाको शव देखेपछि स्थानीयलाई खबर गरेका थिए । फालिएका ति शिशु बालक  रहेका छन् । नवजात शिशुको उक्त शवलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको टोलीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगेको छ । शवको प्रकृति हेर्दा सोमबार विहान नै फालिएको हुन सक्ने प्रहरीले जनाएको छ ।यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी विष्णु कुमारी भटराईले जिल्लाको सदरमुकाममा दैनिक रुपमा नवजात शिशुको शव भेटिनु दुखद् रहेको बताएकी छिन् । उनले घटनाको बारे प्रहरी प्रशासन अनुसन्धानको क्रममा रहेको भन्दै अपराधि जसरी पनि पत्ता लाग्ने बताइन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरिक्षक चन्द्रदेव राईले घटनास्थलको बस्तुस्थितिदेखि नै आफूहरुले अनुसन्धान सुरु गरेको बताएका छन् । उनले बच्चा मरेको जन्मिएर फालेको वा जन्मिएपछि मारेर फालेको भन्ने प्रष्ट नभएको भन्दै शव जगंल तथा फोहार फाल्ने ठाउँमा फालिनुले पनि अवैध सम्बन्धबाट जन्मिएको शिशु मारेर नै फालेको आशंका बढेको बताए । प्रहरी नायव उपरिक्षक राईले घटनाको विषयमा अनुसन्धान गर्नका लागि सिभिलमा टोली खटाएको जानकारी दिएका छन् ।उनले जिल्ला भित्र रहेको विभिन्न स्वास्थ्य संस्था एवम् छिमेकी जिल्लामा रहेको स्वास्थ्य संस्थाहरुमा सोधपुछको काम सुरु गरिने बताए । अपराधि पत्ता लगाउनका लागि यहाँका स्थानीयहरुले पनि सहयोग गर्नुपर्ने भन्दै राईले यदि शंकास्पद  व्यक्तिहरु देखेमा र पाइएमा प्रहरीमा खबर गर्न अनुरोध गरेका छन् । आइतबार मात्रै खुम्बुले मार्ग तलतिर नयाँ बजारको ठाडोखोला नजिकै फोहोर फाल्ने ठाउँमा निलो प्लास्टिकमा कपडाले बेरिएको अवस्थामा नवजात शिशुको शव भेटिएको थियो ।प्रहरी प्रशासनले सक्रिय भई अनुसन्धान गरी छिटो भन्दा छिटो अपराधि पत्ता लगाएर कडा कारबाही गर्नु पर्ने स्थानीयले बताएका छन् । यसभन्दा अघि पनि सोलुखुम्बुको विभिन्न स्थानमा शिशुको शव भेटिने गरेको भएपनि यसपटक लगातार सदरमुकाममै दुई जना नवजात शिशुको वेवारिसे शव भेटिएपछि समुदायमा विकृति फैलन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । 

,

0 comments

Write Down Your Responses