प्रहरीले खोस्न नसकेको कुपन नं २१३ !
१ पुस, काठमाडौं । भूकम्पपीडितका नाममा आफ्नी छोरी र नातेदारलाई विदेश घुमाउने व्यक्ति गृहमन्त्री बनेको देशमा उनी मातहतको प्रहरी प्रशासनले चाहिँ जनताको काम कसरी गरिरहेको होला ?
ग्यासका प्रशस्तै बुलेटहरु उपत्यकामा भित्रिँदा पनि उपत्यकाबासीले किन एउटा सिलिण्डरसम्म पाउन सकेका छैनन् ? ग्यास डिपोमा प्रहरीहरु जनताको सुविधाका लागि परिचालित भइरहेका छन् कि गुण्डागर्दी र कालोबजारीका लागि ? नाकाबन्दीको मारमा परेका पीडित जनतामाथि प्रहरी प्रशासनको व्यवहार ‘मुस्कान’सहितको छ या ‘लात्ती’सहितको ?
बुधबार बिहानै सात बजे चाबहिलमा एक भद्र भलादमी खर्ल्याङ-खर्ल्याङ खोच्याउँदै हिँडिरहेको अवस्थामा भेटिए । उनी रहेछन्- अधिवक्ता कृष्णप्रसाद देवकोटा ।
खुट्टो खोच्याउँदै हिँडे पनि उनी अपाङ्गता भएका व्यक्ति चाँहि होइनन् । उनी हुन्- ग्यासको लाइनमा प्रहरीको पिटाइ खाएर सात घण्टा गौशाला प्रहरी हिरासतमा थुनिएका गणतन्त्र नेपालका निरीह नागरिक ।
प्रहरीको बुट प्रहारबाट दुखेको देवकोटाको देब्रे तिघ्रो सिनामंगल अस्पतालको सिफारिसअनुसार ‘ब्रुसेट’ खाए पनि जाति भएको छैन ।
चावहिलस्थित एउटा छाप्रोमा दुई सन्तान र पत्नीका साथमा बस्दै आएका गोर्खाली नागरिक देवकोटाले एउटा ग्यास सिलिण्डरका लागि के कस्तो संघर्ष गरेका रहेछन् भन्ने थाहा पाउन हामीलाई मन लाग्यो ।
देवकोटाले ग्यासका लागि सात रात सडकमा बिताएका रहेछन् ‘महिना पहिले पालो गरेर ६/७ रात सडकमै बिताइयो, उनले भने, ‘लाइनमा बसेपछि एक महिनाअघि एउटा कुपन पाइयो र हिजो प्रहरीको कुटाइ खाइयो ।’
एक महिना पहिले हात लागेको कुपन मंगलबार गौशाला प्रहरीले उनको हातबाट खोस्ने असफल प्रयास गर्यो र उनी थुनिए । उनी भन्छन्- ‘प्रहरीले मेरो कुपन खोस्न खोजेको थियो तर (पेन्टभित्र गोप्य ठाउँतिर देखाउँदै) यहाँ, भित्र हालेर जोगाएँ ।’
प्रहरी कार्यालयबाट ग्यास डिपोमा खटिने प्रहरीहरुले यसैगरी सर्वसाधारणबाट ग्यास लुट्ने र आफूले लाने गरेको रहस्यसमेत यो प्रकरणबाट खुलेको छ । प्रहरीले नै यस्तो धन्दा गरेपछि उपत्यकाबासीले कसरी पाउन् त ग्यास ? गृहमन्त्री नै त्यस्ता छन्, उनबाट प्रहरीले के संस्कार सिकुन् ।
मंगलबार बिहान १० बजे चाहहिलको स्तुपानजिकै नेपाल ग्यासको डिपोमा के भएको हो ? प्रहरीको कुटाइ खाएर सात घण्टा थुनिएका अधिवक्ता देवकोटाले आफ्नो तस्वीर चाँहि सार्वजनिक नगरिदिन आग्रह गर्दै यसरी पीडा पोखे –
मेरो कुपनको नम्बर २१३ थियो । एक महिनाअघि नै चाबहिलको नेपाल ग्यासको डिपोबाट कुपन लिएको थिएँ । त्योबेलामा ५/७ दिन रात/दिन नै लाइन बसियो । पछि चाबहलिमा जात्रा आयो र लाइन हटाइयो । त्यतिबेला ग्यास आएन भनेर यो कुपन दिएर पठाएका थिए । यो एक महिना अघिकै कुरा हो ।
वीचमा एक लट ग्यास आइसकेछ । मैले थाहा पाइँन । हिजो (मंगलबार) मैले बल्ल ग्यास आएको थाहा पाएँ । डिपोले म पुग्नुभन्दा अघि नै ३०० नम्बरसम्मको कुपनका लागि ग्यास बाँडिसकेछ ।
मैले डिपोवालालाई कुपन देखाँए । डिपोवाललले केहीबेर बस्नुस् भने । म बसेँ । पछि मलाई डिपोकी साहुनीले तपाईँको कुपन २१३ हो ? भनेर सोधिन् र मलाई बोलाइन् । म अगाडि बँढे । तर, मलाई प्रहरीले रोक्यो । प्रहरीले उता बस्, तँ अघि नै गइसकेको होइन ? भन्दै फर्कायो । म डिपोवाला साहुनीले बोलाएको ठाउँसम्म पुग्नै पाइँन ।
लाइनमा बसेकाहरुले मेरो कुपनको नम्बर हेरे । उनीहरुले मलाई तपाईंको लाइनको त वितरण भइसक्यो, लाइन बस्दा पालो आउला नआउला, फेरि एकपटक कुरा गर्न जानुस् भनेर सल्लाह दिए । बाँड्दा बाँड्दै ग्यास नै सकिएला भनेर लाइनमा बसेका धेरैले मलाई सम्झाए । त्यसपछि फेरि म डिपोतर्फ जाँदै थिए । म अगाडि बढ्न लाग्दा इन्स्पेक्टर (अरुणकुमार भण्डारी) ले मुक्याउँदै झ्यापझुप समाते र गाडीमा हाले ।
त्यहाँ हुलदंगा केही भएको थिएन । मसँग अरु कोही साथी पनि थिएनन् । लाइनमा हुनेले मलाई सर्पोट गरेका थिए । हामी वकिललाई अपशब्द बोल्न आउँदैन । तर, कुरा भने हामी हाक्काहाक्की राख्छौं ।
इन्स्पेक्टरले जवानहरुलाई ‘यसलाई रामधुलाइ गर् अनि सबक सिका’ भने । त्यसपछि मलाई कुट्दै-कुट्दै लगे । कुट्नेहरुले नेमप्लेट पनि झिकेर मलाई कुट्न थाले । छातीमा टाँसेको नेमप्लेट च्वार्रर पारेर गोजीमा हाल्दा रहेछन्, अनि कुट्दारहेछन् । नत्र म नाम हेर्थेँ ।
एउटा सइले भने विस्तारै लैजा भनेर संकेत गरे । तर, उनी पनि इन्स्पेक्टरसँग डराएका थिए । पछि मलाई गाडीमा घोप्टो पारेर टाउकोमा जुत्ताले हानेको हान्यै गर्यो ।
मलाई सुरुमा गौशाला प्रहरी कार्यालयमा लगेर बाहिर राखेको थियो, असईले । भित्र मुद्दा शाखाको एउटा कोइराला थरको सइले ‘के भो देवकोटा जी’ भनेर मलाइ भित्र बोलाए । फेरि असइ आयो र तँ किन भित्र जाने भन्यो । यसलाई भित्र हाल्दे भन्यो । मैले कोइरालाजीले बोलाउनुभो र भित्र पसेको भनें । तर, उसले जबरजस्ती मलाई लगेर हिरासतमा थुन्यो ।
मैले पहिल्यै चिनेका सई कोइरालाले मेरो घरमा फोन गर्दिए । उनले देवकोटाजी एकछिनमा आउनुहुन्छ, तपाई आएर ग्यास लैजानुहोला भनेर फोन गरिदिए ।
दिउँसो बजेतिर त्यो इन्स्पेक्टर अरुणकुमार भण्डारी आए तर, मलाई भेटेन । मेरो एकजना साथीलाई मलाई बुझेर लैजानुस् भने र मलाई छोडिदिए ।
बाहिर आएपछि मैले प्रहरीसँग के अपराध गरेँ भनेर सोधेँ । मैले कुपन देखाएँ । मैले मलाई कुट्ने प्रहरीलाई कारवाही गर्ने कि नगर्ने भनें । प्रहरीले मलाई ‘छोड्दिनुस्, उपचार गर्न जाउँ भनेर फकाए । मैले हुन्न भनें । मैले तपाईंहरुसँग गएपछि मेरो रिर्पोट नै आउँदैन भनेँ । उनीहरुले मलाई सरकारी डाक्टरले जाँच्ने हो भनेर गाडीमा हाले ।
मैले एकपटक डीएसपी साहेबसँग कुरा गर्छु भनेँ । मलाई कुट्ने इन्स्पेक्टर त्यँही यताउता गर्दै थिए, तर मसँग बोलेनन् । डीएसपी सुरेन्द्रप्रसाद मैनाली मसँग शुरुमै जंगिए । उनले ‘तँ कुन हैसियतले मसँग कुरा गर्न आएको’ भन्दै थर्काए ।
म छुट्ने भए पनि मजस्तै अरु मानिसहरु अनाहकमा नकुटिउन् भन्ने मेरो सोच थियो । ती कुट्ने प्रहरीलाई डीएसपीले कम्तिमा केही भनेर हप्काए भने म जसरी अरु कुँटिदैनन् भन्ने मलाई लागेको थियो । प्रहरीको काम पक्रेर ल्याउने हो र काुननबमोजिम उभ्याइदिने हो । जनतालाई कुट्न त प्रहरी राख्ने हो र ? पक्रेर गाडीमै हालेपछि पनि अन्धाधुन्ध कुट्ने कहाँको न्याय हो ? यिनीहरुले वकिललाई छोड्दैनन् भने सर्वसाधारणलाई के गर्लान् भन्ने मलाई लाग्यो । यही कारणले मैले डीएसपीसँग आफ्नो गुनासो पोख्न खोजेको थिएँ ।

0 comments
Write Down Your Responses