मधेसी मोर्चाका नेताहरु दिल्लीबाट फर्किएपछि मात्र संविधान संशोधनबारे सहमति खोजिने
२१ मंसिर, काठमाडौं । मधेसी मोर्चाको आग्रहमा संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा पेश गर्ने तयारी रोकिएको छ । अब मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्लीबाट फर्किएपछि मात्र संशोधनबारे समझदारी खोजिने भएको छ ।
सभामुख वनसरी घर्तीको पहलमा सोमबार विहान बसेको प्रमुख तीन दलको बैठकले मधेसी मोर्चालाई विश्वासमा लिएर संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । त्यस अनुसार तीन दलका नेताहरुले मधेसी मोर्चाका नेताहरुसँग छलफल समते गरे ।
तर, मोर्चाका नेताहरुले शीर्ष नेताहरु दिल्लीबाट नफर्किएसम्म संविधान संशोधन प्रक्रिया अघि बढाउन नसकिने बताएका छन् । ‘संसदमा दर्ता भएको संशोधन प्रस्ताव अघि बढाऔं, सैद्धान्तिक छलफल नेताहरु दिल्लीबाट आएपछि गरौं भनेर हामीले भन्यौं’ कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने-‘उहाँहरु मान्न तयार हुन भएन ।’
श्रेष्ठका अनुसार बुधबार मधेसी मोर्चाका नेताहरु फर्किएपछि यसबारे बिहीबार मात्र छलफल हुने भएको छ । ‘मोर्चाका नेताहरु दिल्लीमा भेटवार्तामा हुनुहुन्छ र केही दिन पर्खनुस् भन्नु भएको छ’ उनले भने ।
तीन दल र मधेसी मोर्चाको बैठकपछि बसेको बैठक मधेसी मोर्चाका सांसदहरुले अवरुद्ध पारेका छन् ।

0 comments
Write Down Your Responses