सरकार, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच आज साढे १ बजे वार्ता
सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच आइतबार दिउँसो साढे १ बजे वार्ता हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिउँसो साढे १ बजे सिंहदरबारमा वार्ता हुने बताएका छन्।
यसअघि आन्दोलनरत मधेसी मोर्चाले संसदमा पुनर्निर्माणसम्बन्धी विधेयक पेस गर्न दिने सहमति गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन विधेयक पनि अगाडि बढाउनु पर्ने माग राखेपछि शुक्रबारको संसद बैठक बस्न सकेको थिएन।
मधेसी दलहरूले कोइराला सरकारको पालामा संसदमा दर्ता भएको संशोधन विधेयकमा प्रदेश सीमांकनको विषय नसमेटिएकाले प्याकेजमा सहमति गरेरमात्र संशोधन विधेयक अघि बढाउनुपर्ने बताउँदै आएका छन्। प्रमुख तीन दलले भने अहिले समानुपातिक/समावेशी प्रतिनिधित्वको सिद्धान्त र जनसंख्याका अाधारमा निर्वाचन क्षेत्रमा परिवर्तन गरी तीन महिना भित्र सीमांकन टुंग्याउने गरी राजनीितक समिति बनाएर अघि बढ्न प्रस्ताव गरेका छन्।
संसद बैठक आइतबार अपरान्ह तीन बजेका लागि बोलाइएको छ।

0 comments
Write Down Your Responses