तेल चोर्ने ‘ हिटलर’ले निगमका निर्देशककै गाला चड्काए (हेर्नुहोस भिडियो)
मुख्य विषय थियो, थानकोट डिपोबाट क्लेमएबल लस देखाएर मात्रै एक लाख ३१ हजार नौ सय ११ लिटर इन्धन कालोबजारी गरेको । त्यसका नाइके थिए, थानकोट डिपो प्रमुख रविनकुमार शर्मा । उनै शर्मा हुन्, जो समाचार प्रकाशित भएको एक साता बित्दानबित्दै आइतबार पक्राउ परे । क्लेमएबल लस भनेर कागजमै देखाउन मिल्ने गरी इन्धन बेचिएको थियो । तर कागजमा नदेखाएरै धेरै इन्धन बेचेका थिए, जसको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
शर्मालाई प्रहरीले त्यतिबेलादेखि अनुसन्धान गरिरहेको थियो, जतिबेला प्रहरीले पेट्रोलपम्ममा रिमोट तथा चिप्स जडान गरी कालोबजारी गरेको तथ्यसहित चिप्स जडान गर्ने व्यक्तिहरूलाई पक्राउ गर्यो ।
पक्राउ परेका व्यक्तिले चिप्स जडान गरेपछि प्रतिलिटरमा दुई सयदेखि चार सय मिलिसम्म पेट्रोलियम पदार्थ कम दिन मिल्ने बताएका थिए भने पेट्रोलियम व्यवसायीले आफूहरूलाई थानकोट डिपोबाटै कम परिणाममा पेट्रोलियम पदार्थ दिने गरेकाले आफूले उपभोक्ता ठग्नुपरेको बयान दिएका थिए ।
अनुसन्धान चलिरहेकै बेला मंसिर ९ गते नै नेपाल आयल निगमको विराटनगर डिपोबाट काठमाडौंस्थित थानकोट डिपोका लागि ल्याउँदै गरेको ना.४ख ३२५२ र ना.४ख ३९२७ नम्बरको डिजेल ट्यांकरबाट करिब ६ सय लिटर डिजेल चोरी गरेर बिक्री गरेको भेटियो । दुई चालकसहित एक खरिदकर्तालाई प्रहरीले चितवनको सिमलतालनजिकै पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा थानकोट डिपोका प्रमुख रविनकुमार शर्माको समेत संलग्नता पाइएपछि अनुसन्धान हुन सक्ने आशंकामा प्रहरीले झन् सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।
शर्माले निर्देशककै गालामा चड्कन लगाएका थिए
शर्माले ढुंगे अड्डामा रहेको जय श्री गणेश आयलमा समेत लगानी गरेको खुलेको छ । उनको आफ्नै नाममा नभई चालकहरूका नाममा लगानी गरेको बुझिएकाले यसबारे तथ्यहरू खोजिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । ‘उक्त पम्पमा अत्यधिक डिजल, पेट्रोल दिएको पाइएपछि अनुसन्धान गर्दै जाँदा उनको लगानी समेत रहेको भन्ने थाहा हुन आयो । हामीले थप तथ्यहरू खोजिरहेका छौँ,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने ।
शर्माले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका सहयोगी कर्मचारी हेमराज बराल तथा निगमकै कर्मचारी वरिष्ठ सहायक राजकुमार केसीमार्फत मासिक रूपमा प्रतिविक्रेता १० हजारदेखि ५० हजारसम्म कमिसन रकम माग गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ ।
गत हप्ता शर्माले डिपो भित्रैबाट कम परिमाणको बिल बनाई बढी परिमाणमा पेट्रोलियम पदार्थ बिक्री गरी बाहिर निकालिएको टैंक–ट्रक शंकास्पद लागि प्रहरीले अनुसन्धान गर्दा परिमाणमा फेर गरेको फेला पारेको थियो ।
बैंकिङ कारोबार बरालमार्फत
शर्माले आफ्नो अनियमिततामार्फत कमाएको रकमको बैंकिङ कारोबार सहयोगी कर्मचारी बरालमार्फत पनि गर्ने गरेको खुलेको छ । अपरेसन क्राइसिस सुरु भएपश्चात् पक्राउ परेका सहयोगी कर्मचारी बरालले शर्माले नै आफूलाई कालोबजारीमा संलग्न गराएको बयान दिएका थिए । शर्माले आफूविरुद्ध बयान नदिन बराललाई दबाब दिएको स्रोत बताउँछ । आफूविरुद्ध बयान नदिए अदालती प्रक्रियामार्फत आफूले बरालको सम्पूर्ण जिम्मेवारीसमेत लिने शर्माले बताएको स्रोत बताउँछ ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार एसोसिएसनका सहयोगी कर्मचारी बरालको शान्तिनगरस्थित कोठामा प्रहरीले छापा मार्दा उनको कोठामा विदेशी ब्रान्डका करिब चार लाख मूल्य बराबरका महँगा रक्सी फेला परेको थियो । उक्त कोठामा भएका कागजातमा समेत शर्माको संलग्नता देखिएको प्रहरीले जनाएको छ । छानबिनका क्रममा प्रहरीले बरालको बैंक कारोबार अध्ययन गर्दा समेत करिब तीन करोड बराबरको बैंकिङ कारोबार भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।
निज शर्माले गत वर्ष उच्च व्यक्ति आमन्त्रण गरी आफ्नी छोरीको बिहेभोज अन्नपूर्ण होटेलमा दिएका थिए । भोजमा करिब डेढ करोड खर्च गरेको सम्बन्धमा समेत अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले शर्माविरुद्ध फेरि सूक्ष्म निगरानी बढाएको थियो ।
कमिसनखोर पक्राउपछि खड्का तनावमा
आफूमाथि नै कारबाहीको प्रक्रिया सुरु भएका बेला कमिसनकै खम्बा मानिने डिपो प्रमुखहरू लगातार कारबाही, पक्राउ र वारेन्टमा परेपछि आयल निगम प्रमुख गोपालबहादुर खड्का तनावमा छन् । तत्कालीन नेपालगन्ज डिपोप्रमुख श्रीचन्द्र श्रेष्ठ, भलबारी डिपो प्रमुख दिनेशकुमार यादवलाई पेट्रोलियम पदार्थको कालोबजारी गरी अनियमितता गरेको आरोपमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गरेको थियो । त्यसपछि उनीहरुलाई केन्द्रमा तानेर अनुसन्धान जारी हुँदा एकपछि अर्को घटनाको रहस्योद्घाटन हुँदै गएको छ ।
डिपोका लागि आयातीत हवाई इन्धन डिपो नपुग्दै बीचमै बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा खड्काका सहयोगी मानिने हवाई इन्धन डिपो, सिनामंगलका प्रमुख प्रदीपकुमार यादवविरुद्ध वारेन्ट जारी भइसकेको छ । डिपोकै अर्का कर्मचारी गोपाल नकर्मीको समेत संलग्नतामा तेल चोरी तथा बिक्री–वितरण हुने गरेको विषयमा पनि उजुरी परेको छ । तर, नकर्मीलाई संरक्षण गर्न कार्यकारी निर्देशक खड्का नै लागिपरेको आयल निगम स्रोत बताउँछ ।
‘आफूविरुद्धका थप प्रमाण संकलन हुने डरले कार्यकारी निर्देशक खड्काले यादवलाई प्रहरीमा हाजिर हुन नदिई आफ्नै संरक्षणमा राखिरहेका छन्,’ निगमका एक कर्मचारीले भने ।
प्रहरी हिरासतमै पठाए एजेन्ट
खड्काले थानकोट डिपो प्रमुख शर्माको पक्राउपश्चात आफ्नो समेत संलग्नता रहेको खुल्ने डरले शक्तिकेन्द्र धाउन सुरु गरेको निगमका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । खड्काले संकटकै समयमा डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठ र दिनेश कुमार यादवमार्फत स्टक ट्रान्सफर गर्न लगाई थानकोट डिपोमा पेट्रोलियम पदार्थ भित्र्याई आफूखुसी कमिसनमा बेच्ने गरेको उनीहरूले बताइसकेका छन् । शर्माले पनि यथार्थ कुरा बताएमा आफू संकटमा पर्ने भएपछि खड्काले सोमबार प्रहरी हिरासतमा शर्मालाई भेट्न आफ्ना तीनजना एजेन्ट कर्मचारी पठाएको स्रोत बताउँछ ।
शर्माले मासिक करिब ३० लाख खड्कालाई बुझाउने गरेको आफू निकटस्थलाई बताउने गर्थे । शर्माले आफूलाई सबैजसो शक्तिकेन्द्रको संरक्षण रहेको र कसैले केही गर्न नसक्ने दाबी गर्थे ।
अख्तियारले अनुसन्धान गरोस्
: कर्मचारी
निगमका कर्मचारीले निगमको हवाई इन्धन डिपो सिनामंगलमा भएको अनियमिततालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । कर्मचारीले निगमको नेपालगन्ज डिपोप्रमुख श्रीचन्द्र श्रेष्ठ, भलबारी डिपो प्रमुख दिनेशकुमार यादव र हवाई इन्धन डिपोप्रमुख प्रदीपकुमार यादवका क्रियाकलापबाट व्यापक रूपमा अनियमितता भएको दाबीसहित अख्तियारलाई गुहारेका हुन् ।
निगममा कार्यरत ट्रेड युनियनकर्मी कर्मचारीले पनि आरोपितहरूमाथि तुरुन्त छानबिन गरी सत्यतथ्यका आधारमा कारबाही हुनुपर्नेमा जोड दिएका छन् । ‘यसमा अहिलेका आरोपित मात्रै होइन, अरुको पनि संलग्नता भएको हामीले पाएका छौँ, यसमा अख्तियारले तुरुन्त काम थाल्नुपर्छ । ढिला भयो भने प्रमाण नष्ट हुन सक्छ,’ एक ट्रेड युनियनका पदाधिकारीले भने ।
0 comments
Write Down Your Responses