अख्तियारले पत्र काटेका अनुहार– ७ : पत्नी तानिएपछि उपप्रधानमन्त्री सिपी मैनालीलाई अर्को ‘टेन्सन’ फोटो फिचर सहित)

०४६ सालअघिसम्म नेता सिपी मैनाली र मैनालीपत्नी सीता खड्काको जोडी ‘आदर्श जोडी’का रूपमा चर्चित थियो । ३० को दशकमा भएको चर्चित झापा विद्रोहका नायक सिपी र पत्नी सीता खड्कालाई उतिबेला धेरैले पुराणकै पात्र जसरी चर्चा गथ्र्यो । उनीहरूको साहस, बलिदान र जुझारुपनको चर्चा प्रवासमा समेत हुने गथ्र्यो । विद्यार्थी कालदेखि नै कम्युनिस्ट पार्टीमा आबद्ध भई भूमिगत राजनीतिमा होमिएकी सीता खड्का नेकपा (माले) र पछि एमालेको महिला फाँटमा सक्रिय रहिन् । महिला फाँटमा सीता खड्काको बेग्लै उचाइ थियो । उनी महिला फाँटमा चर्चित भइसक्दासम्म वर्तमान राष्ट्रपति विद्या भण्डारी राजनीतिमै थिइनन् । पछि वामदेव गौतमको नेतृत्वमा एमाले फुट्यो, सिपी मैनालीसहित पत्नी सीता गौतमकै मालेमा लागिन् । पछि फेरि वामदेव एमालेमा मिसिए तर मैनाली मालेको नेतृत्व गर्दै बसे । ०४६ सालमा बहुदल आएपछि पाटन मंगलबजारमा बस्दासम्म पनि सीता खड्काको क्रान्तिकारी छविमा कसैले कुनै प्रश्न उठाउन सक्दैनथ्यो । समय बित्दै गयो । ०४६ सालदेखि ०५६ सालसम्मको दुई दशकमा नेपालको संसदीय राजनीतिमा भित्रिएको विकृति र विसंगतिले धेरै क्रान्तिकारी पातहरू ओइलाए । धेरै क्रान्तिकारी अनुहारहरू मुर्झाए । झापा विद्रोहका नायक मोहनचन्द्र अधिकारी गीता पाठ गर्दै आध्यात्मिक चिन्तनतिर लागे । राधाकृष्ण मैनाली राजाको खेताला बन्न गए । त्यही लपेटमा क्रान्तिकारी सिपी मैनाली दम्पतीलाई पनि सत्ताको सुख र सुविधाले आकर्षित गर्न थाल्यो । आपूर्तिमन्त्री भएका बेला सिपी मैनाली ‘चिनीकाण्ड’मा मुछिए । मैनालीले हाकाहाकी पार्टीका लागि चिनीकाण्ड गराएको पनि स्विकारे । र, मैनालीलाई पर्दा पछाडिबाट त्यस्ता काममा लगाउने भूमिका सीता खड्काबाट हुने गरेका चर्चा चल्न थाले । सरुवा–बढुवा, ठेक्कापट्टाको डिलिङ सोझै सीता खड्काबाट हुन थालेका खबर पत्रपत्रिका आउन थाले । खड्काले लेनदेनमा स्वाद अनुभव गरेपछि यसलाई निरन्तरता दिने मन बनाएको उनका समकक्षीहरू बताउँछन् । जब आर्थिक हैसियत चुलिन थाल्यो । जब विगतका क्रान्तिकारी छविले आफैँलाई पोल्न थाल्यो, जब राजधानीका कुलीन र सभ्रान्त महिलाको हावा चल्न थाल्यो, तब ती क्रान्तिकारी जुझारु महिलानेतृ सीता खड्का रूपान्तरित भएर ‘निलम केसी’ भइन् । सभासद् निलम केसीदेखि मन्त्री निलम केसी हुँदासम्म यी क्रान्तिकारी महिला नेतृत्वको छविमा पनि भ्रष्टाचारका दागहरू लाग्न थाले ।

अख्तियारले हालै मात्र उनलाई अकुत सम्पत्ति थुपारेको आशंकामा छानबिनका लागि पत्र काटेपछि उनको आर्थिक हैसियतको अर्थ बिस्तारै खुल्न थालेको छ । र, यसले बहालवाला उपप्रधानमन्त्री सिपी मैनालीलाई तनावमा पार्न थालेको छ । एक मालेका कार्यकर्ता भन्छन्, ‘निलम केसीको व्यवहारले अब सिपी मैनालीलाई सकसमा पार्ने भो । मैनालीज्यूलाई अर्को टेन्सन आइलाग्यो ।झुक्किएर पाएको हैसियत
पूर्वमन्त्री निलम केसी र उनका पति बहालवाला उपप्रधानमन्त्री सिपी मैनाली यस्ता पात्र हुन्, जसलाई गणतन्त्र सबैभन्दा बढी फापिरहेको छ । संविधानसभा निर्वाचनमा समानुपातिक पद्धति लागू भएपछि पहिलो र दोस्रो निर्वाचनमै मैनाली दम्पतीले सभासद हुने मौका पाए । ठूलो दल नेकपा (एमाओवादी)को चुनाव चिह्न हँसिया हथौडासँगै मिल्ने ‘हँसिया हथौडा र तारा’ चुनाव चिह्न परेकाले झुक्किएका मतदाताका कारण दोस्रो संविधानसभा निर्वाचनमा पनि मालेले आश्चर्यजनक रूपमा एक लाख ३० हजार तीन सय भोट पायो । त्यो पार्टीले जम्मा एक सय ५४ स्थानमा मात्रै उम्मेदवार उठाएको थियो । तर, समानुपातिकमा दुई सय ४० क्षेत्रबाटै मत पायो । आफूले उम्मेदवार नउठाएको क्षेत्रमा समेत एमाओवादीका मतहरू झुक्किएर पाएको मालेलाई त्यो मत नै सत्ता राजनीतिको ढोका बन्न पुग्यो ।
बढ्दै गयो बचत
दोस्रो संविधानसभामा कसैलाई पनि पूर्ण बहुमत नआएपछि सत्ता समीकरणको खेलमा मैनाली दम्पती पनि लाग्ने नै भए । सोही क्रममा सुशील कोइरालाको नेतृत्वमा बनेको सरकारमा मैनाली पत्नी निलम केसी खड्काले महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बन्ने मौका पाइन् । मन्त्री हुनासाथ मन्त्री केसीको आर्थिक उन्नति हुँदै गएको देखिन्छ । जस्तै, मन्त्री भइसकेपछि शुभलक्ष्मी बचत तथा ऋण सहकारीमा केसीले एक लाख ५० हजार थपेकी थिइन् र त्यो रकम अहिले लाखौंमा पुगिसकेको बताइन्छ । केसीको नाममा कामनपा– ७ मा एक रोपनी दुई आनामा फैलिएको घर तथा ललितपुरको लुभुमा जग्गा रहेको छ । केसीले जुम्लाको चन्दननाथ गाविसमा जग्गा किन्न भनेर हरिनारायण आचार्यलाई चार लाख ३० हजार बैना दिएको खबर त्यतिबेलै आएको थियो र जसबाट उनीसँग अकुत सम्पती रहेको अख्तियारको आशंका थियो । उनको नाममा बैंक अफ काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक आदिमा लाखौँ नगद र ५०औँ तोला सुन रहेको बताइन्छ । केसीको नाममा म्याग्ना हुन्डाई गाडी पनि छ ।
केसीको घरमा पुग्ने हरेक मालेका कार्यकताले केसीको तडकभडक र भड्किलो जीवनशैलीको दृश्य देख्न सक्छ । राजधानीका कुलीन र सभ्रान्त वर्गलाई पनि उछिन्दै पूर्वमन्त्री केसीले सात–आठवटा त कुकुर नै पालेकी छन् । ती कुकुरलाई मात्र पनि खाना, हेरचाह र औषधि, उपचार र स्नानमै हजारौँ रुपैयाँ खर्च हुने गरेको त्यहाँ पुग्ने कार्यकर्ता बताउँछन् ।
‘सर्वहारा वर्गकी नेतृले काठमाडौंमा बसेर कसरी यतिका सम्पत्ति जोड्नुभयो ? हामी आश्चर्यमा छौँ,’ झापा गौरादहका हेमन्त मैनाली भन्छन्, ‘त्यो गौरवमय झापा विद्रोहकै बदनामी भइरहेको छ ।’
समाज कल्याणमा खाने दाउ
हुन त मुलुकमा परिवर्तन भइसकेपछि महिलाहरू पनि धमाधम मन्त्री बन्न थाले । निलम केसी मन्त्री बन्नु पनि समावेशी समानुपातिक व्यवस्थाकै प्रतिफल थियो । हाम्रो समाजमा पुरुषको तुलनामा नारी पछाडि परेका छन् । त्यसमाथि दलित, उत्पीडित समुदायका नारीको अवस्था दयनीय छ नै । महिलाहरू नीति–निर्माणको तहमा पुग्नुपर्छ भन्ने आवाज उठ्न थाले र उठिरहेका छन् । तर, मौका पाएर पनि महिलाले काम गर्न नसकेको उदाहरण निलम केसी हुन् भन्ने चर्चा अहिले महिला वृत्तमा चल्ने गरेको छ । आफू मन्त्री भएका बेला केसीले समाज कल्याण परिषद्को अधिकारसमेत आफ्नै हातमा लिई आफू खुसी काम गरेकी थिइन् । समाज कल्याण ऐनविपरीत उनले परिषद्का सदस्यसचिवलाई बाइपास गर्दै मन्त्रालयमै परिषद्को बैठक बसाल्न थालेपछि त्यतिबेला उनको निकै आलोचना भएको थियो । ऐनमा भने परिषद्का अध्यक्षसँग स्वीकृति लिई सदस्यसचिवले बैठक बोलाउने प्रावधान छ ।
उनले त्यतिबेला मधेसी भएकै कारण तत्कालीन सदस्यसचिव रविन्द्र कुमारलाई हटाउन खोजेको पनि बताइन्छ । ०७१ भदौमा नियमविपरीत मन्त्रालयमा बैठक डाकेकी केसीले बैठकपछि सदस्य रविन्द्रकुमारसँग स्पष्टीकरण सोधेकी थिइन् । खासमा रविन्द्रलाई हटाएर लाखौँ ‘नजराना’ चढाउने कुनै अर्को व्यक्तिलाई सदस्यसचिव बनाउने केसीको दाउ रहेको चर्चा अहिले पनि समाजकल्याण परिषदमा हुने गर्छ । बहालवाला सदस्यसचिवलाई बिनाकारण हटाएर आर्थिक शुभलाभका आधारमा नयाँ सदस्यसचिव बनाउन केसीले त्यसबेला निकै कोसिस गरेकी थिइन् । उनले माले निकटका आफ्ना आफन्त सातजनालाई परिषदमा नियुक्त गरेकी थिइन् । पछि यो मुद्दा सर्वोच्च अदालतमा पुग्यो । सर्वोच्चले मन्त्री केसीलाई समाज कल्याण परिषदको अधिकार आफ्नै हातमा लिई आफू खुसी नगर्न÷नगराउन आदेश दिएको थियो । अदालतले अन्तरिम आदेश दिँदै कानुनविपरीत कुनै काम नगर्न भनेपछि उनको मनोकांक्षा पूरा हुन पाएन ।
अमेरिकामा बबन्डर
पूर्वमन्त्री केसीको उत्तेजक र आक्रामक व्यवहार पनि महिला क्षेत्रमा आलोचित हुँदै आएको छ । मन्त्री पदमा बहाल रहेकै बेला केसी अमेरिका भ्रमणमा गएकी थिइन् । न्युयोर्कमा नेपाली महिलाबीचको एक कार्यक्रममा दोहोरो नागरिकताको विषयमा बहस भएपछि महिलाले मन्त्रीविरुद्ध हुटिङ गरेका थिए । विदेशमा बसेका नेपाली महिलाले आफ्नो नागरिकतालाई निरन्तरता दिनुपर्ने आग्रह गर्दा केसीले आक्रोशित हुँदै ‘दोहोरो नागरिकता लिन पाइँदैन’ भन्दै महिलालाई गाली गरेकी थिइन् । अमेरिकामा रहेकी अधिकारकर्मी सीता खरेललगायतको समूह र मन्त्रीबीच त्यही विषयमा झन्डै हात हालाहालको अवस्था सिर्जना भएको थियो । मन्त्री केसीको तर्क सही रहे पनि त्यसबेला उनको प्रस्तुति ठीक नभएको सबैको गुनासो थियो । परिस्थिति कहाँसम्म चर्किएको थियो भने, केसीले महिलाविरुद्ध ‘प्रहरी बोलाउन नपरोस्’ भन्नेसम्मको धम्की दिएकी थिइन् ।
म दोषी भए झुन्डिन तयार छु, निर्दोष भए लोकमान के गर्छन् ? : केसी
अख्तियारले मलाई समेत जोडेर पत्र काटेकामा सरप्राइज (आश्चर्य) लागेको छ । आखिर किन काट्यो मेरो नाममा पत्र ? सायद हामी (श्रीमान् सिपी मैनाली समेत) लाई फसाउने उद्देश्यले बदलाको भावनाका साथ पत्र काटेको हुनुपर्छ । हामीले निरन्तर राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आएका छौँ । म आफैँ र उहाँ (मैनाली) ले राष्ट्रियताको पक्षमा दृढतापूर्वक निरन्तर राष्ट्रियताको पक्षमा बोलिरहेका छौँ । तर, राष्ट्रियताको पक्षमा रहेको देखिनसहनेले दिएको बेनामे उजुरीको आधारमा अख्तियारले कुनै अनुसन्धान नगरी हचुवाको भरमा पत्र काट्ने काम गरेको छ । कसैले बेनामे उजुरी हाल्दैमा अनुसन्धान नै नगरी पत्र काट्नु अख्तियारकै बदनामी हो । ठीक छ, अख्तियारले पत्र काटिसकेको छ, यसमा म दोषी ठहर भए झुन्डिन तयार छु, तर निर्दोष साबित भएँ भने लोकमान के गर्छन् ?
अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्व मन्त्रीसहित २९ जना व्यक्तिमाथि छानविन शुरु गरेको छ । अख्तियारको यो कदममाथि राजनीतिक बहस पनि शुरु भएको छ । अख्तियारले प्रमाण भएको दाबी गरको छ भने राजनीतिक व्यक्तिले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले प्रतिषोध साँधेको आरोप लगाएका छन् । अख्तियारको छानविनमा परेका नेता दोषी वा निर्दोष डिस्कवरी न्युज नेटवर्क यसको पुष्टि गर्दैन तर नेता, पूर्व प्रशासक र बहालवाला अधिकारीको विगत र वर्तमान देखाउने कोशिस गर्दछ ।
यो पनि पढ्नुहोस्
0 comments
Write Down Your Responses