संविधान संशोधनका लागि कांग्रेसले सरकारलाई दबाव दिने, संसद अवरुद्ध भने नगर्ने

२२ कात्तिक, काठमाडौं ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक तत्काल पारित गर्न सरकारलाई संसदमा दबाव दिने निर्णय गरेको छ ।
 तर, पार्टीका मधेस केन्द्रीत सांसदहरुले माग गरे जस्तो आइतबार नै व्यवस्थापिका संसदको बैठक भने अवरुद्ध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको आइतबार विहान बसेको बैठकले केन्द्रीय समितिको निर्णय अनुसार नै संविधान संशोधन विधेयक तत्काल पारित गर्न सरकारलाई दबाव दिने निर्णय गरेको छ । नेताहरुका अनुसार आइतबारको संसद बैठकमा कार्यबाहक सभापति राममचन्द्र पौडेलले पार्टीको धारणा राख्नेछन् । तर, अहिले नै संसद बैठक भने अवरुद्ध नगर्ने कांग्रेस सांसद जीवन परियारले अनलाइनखबरलाई बताए । ‘कांग्रेस नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधन र प्राधिकरण गठनसम्वन्धी विधेयक संसदमा दर्ता गरेको थियो । त्यसलाई अघि बढाउन सरकारलाई दबाव दिन्छौं’ उनले भने । बैठकमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई दबाव दिन रोष्टम घेर्नु पर्ने माग गरेका थिए । ‘हामी दसैंमा जान सकेनौं । अब तिहार र छठमा पनि मधेसमा जान सक्ने अवस्था छैन’ सांसद रामकृष्ण यादवले भने-मधेस आन्देालनलाई सम्बोधन गर्न दबावका लागि आजैबाट रोष्टम घेर्नु पर्छ भन्ने हाम्रो धारणा थियो । तर, सरकार गठन भर्खर भएकाले अहिले नै संसद अवरुद्ध नगर्ने निर्णय भएको नेताहरुले बताए ।

,

0 comments

Write Down Your Responses