भूकम्प पीडितको बिजोग (भिडियो रिपोर्ट)
काठमाडौं, मंसिर १३ । गत बैशाख १२ गतेको महाभूकम्पपछि घर भत्किएर पालमा बस्न थालेको सात महिनाभन्दा बढी भईसके पनि पीडितहरुको समस्या जस्ताको त्यस्तै छ । पालमुनि दिन गुजार्नु पर्दा बालबच्चा र बृद्धबृद्धाले निकै सास्ती ब्यहोर्नु परेको छ । भाडामा बस्दै आएको घर गत बैसाख १२ गतेको भूकम्पले भत्काएपछि दुई सन्तान लिएर पालमा बस्दै आएकी २५ बर्षीया इन्दु थापालाई हाल निकै समस्या पर्न थालेको छ । भर्खर ४५ दिनकी सुत्केरी इन्दुलाई बढ्दो चिसोसँगै चिन्ता पनि बढिरहेको छ, सानो बच्चालाई कसरी जोगाउने भन्ने । इन्दु थापा त भूकम्प पीडित मध्येकी एक उदाहरणमात्रै हुन् । एक त पालमुनि बस्नु पर्दाको समस्या, त्यसमाथि भारतले लगाउँदै आएको नाकाबन्दीका कारण ग्यास, मट्टितेल र दैनिक उपभोग्य सामग्रीको अभावले उनीहरुलाई झनै समस्यामा पारेको छ । राजधानीको चुच्चेपाटी, भक्तपुर लगायतका स्थानका अहिले पनि सयौंको संख्यामा भूकम्प पीडितहरु पालमुनि बस्दै आएका छन् । यी स्थानमा बस्नेहरु अधिकांशले भूकम्पपछि कोठा भाडा महंगिएको र पाउन पनि मुस्किल भएको बताएका छन् । उनीहरुले सरकारी पक्षबाट सहयोग नपाएको र विदेशीहरुले दिएको राहत पनि नपाएको दाबी समेत गरेका छन् । भूकम्प पीडित बृद्धाबृद्धाहरुले त झन् कष्ट पाएको गुनासो गरेका छन् । भूकम्प गएको यत्रो समय बितिसक्दा पनि सरकारले घरबारविहिनहरुलाई आवासको व्यवस्था मिलाउने काम शुरु समेत गरेको छैन । गैरसरकारी संस्थाहरुले जति बनाए, त्योभन्दा बढी काम हुन सकेको छैन । गाउँ गाउँमा पीडितहरुले जसोतसो आफ्नै खर्चमा बास बनाएका छन् । तर सरकारी सहयोगको आस गरेर राजधानी र आसपासको क्षेत्रका खुला स्थानमा बस्ने भूकम्प पीडितहरु अहिले आएर झन् अन्योलमा परेका छन् ।

0 comments
Write Down Your Responses