माओवादी पूर्वलडाकूहरु पनि लिम्बुवान आन्दोलनमा
धरान, ३१ भदौ - लिम्बुवान आन्दोलनमा पूर्व माओवादी लडाकुहरूले पनि ऐक्यबद्धता जनाएका छन् । उनीहरूले पहिचानको मुद्दा नै जारी राजनीतिक संक्रमण अन्त्यका लागि प्रस्थानविन्दु हुने समेत बताएका छन् ।
दश वर्षे सशस्त्र युद्धको मुख्य एजेन्डालाई नेतृत्वले एकपछि अर्को गर्दै छाडेको भन्दै पूर्व जनमुक्ति सेना, नेपाल (क्रान्तिकारी) ले पूर्वमा उठिरहेको लिम्बुवान आन्दोलनलगायत देशभरका पहिचानको आन्दोलनलाई नजिकबाट नियालिरहेको बताएको छ ।
लिम्बुवान संयुक्त सङ्घर्ष समितिले नेतृत्व गरिरहेको लिम्बुवानको आन्दोलनमा आवश्यक परे जस्तोसुकै राजनीतिक सहयोग प्रदान गर्ने सङ्गठनका संयोजक सूर्य खड्काले बताएका छन् । उनले सङ्घर्ष समितिसँग एकअर्काका मुद्दामा सहकार्य गर्न समेत संवाद भइरहेको उल्लेख गरेका छन् ।
‘प्रचण्डले जनयुद्धका सबै मुद्दा छाडिसके । उत्पीडित समुदाय र भूगोलको आन्दोलन ज्यूँका त्यूँ छ । हामी पहिचानको आन्दोदनमा सशक्त ऐक्यबद्धता जाहेर गर्दछौं,’ संयोजक खड्काले भने ।
त्यसैगरी, प्रवक्ता दीपक दाहालले पूर्वलडाकूहरूलाई राज्यले दोस्रो दर्जाका नागरिकसरह व्यवहार गरेको आरोप लगाए ।
‘हाम्रै बलिदानका कारण पार्टीहरू सत्तामा पुगेका छन् । राजनीतिक एजेन्डा पाएका छन्,’ उनले तीतो पोखे, ‘तर, हामीलाई दोस्रो दर्जाका नागरिकजस्तै व्यवहार गरिएको छ ।’
उनले आफूहरूलाई पनि अवकाशप्राप्त नेपाली सेनासरह मान्यता र सुविधा दिन माग गरे ।
दुई पक्षीय संवाद भएको पुष्टि गर्दै राजनीतिक विश्लेषक एवम् सङ्घर्ष समितिका सदस्य भवानी बरालले लिम्बुवान आन्दोलनमा एकाकार हुने विषयमा छलफल भएको बताए ।
उनका अनुुसार पूर्वमा करिब दुई सयको सङ्ख्यामा पूर्वलडाकूहरू रहेको जानकारी दिए ।
विश्लेषक बरालले केही दिनभित्र पूर्वलडाकूहरूसँग लिम्बुवान आन्दोलनमा सहकार्य गर्ने विषयमा ठोस वार्ता हुने बताए ।

0 comments
Write Down Your Responses