अर्काकी श्रीमती घिसारेको होइन, भर्जिन केटीसँग विवाह गर्दा केको कारबाही ? एमाओवादी नेता हेमन्तप्रकाश वली

ओएस नेपाल, काठमाडौं, २० पुस – घरभरि सन्तान र जीवनभर साथ दिएकी बिरामी श्रीमतीलाई धोका दिएर झण्डै नातिनी उमेरकी पार्टी कार्यकर्तासँग दोश्रो विवाह गरेपछि आन्तरिक कारबाहीमा परेका एमाओवादी नेता हेमन्तप्रकाश वलीले केही दिनअघि पार्टी परित्यागको घोषणा गरे । विवाहको बहानामा आफूमाथि भएको कारबाहीलाई वली दुरासयपूर्ण निर्णय मान्छन् ।आफूलाई लागेको आरोपको भित्भि तथ्य षडयन्त्र हो भन्ने उनको दाबी छ । एमाओवादीमा सांस्कृतिक विचलनको परिभाषा नै त्रुटिपूर्ण मान्न वली आफ्ना केही तर्कले पार्टीविरुद्ध प्रश्न तेस्र्याउँछन् । काठमाण्डु टुडेका लागि ध्रुव रिजालले वलीसँग गरेको कुराकानीको सम्पादित अंशः


तपाईंलाई पार्टीले कारबाही गर्यो वा भनौं तपाइंले एकाएक पार्टी छाड्नु भयो, भित्री कारण के हो ?
एनेकपा माओवादी छाड्नु मेरो रहर होइन, बाध्यता हो । बाध्यताले मैले पार्टी छाँडे । विचार र सिद्धान्त नै नमिलेपछि पार्टीमा बसिरहनुको कुनै अर्थ थिएन । त्यही भएर पार्टी छाडेँ ।
यतिका वर्षसम्म सिद्धान्त र विचार मिलेको थियो, अहिले आएर केमा मिलेन ?
भर्खरै अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नुभएको दस्तावेजमा समाजवादी क्रान्तिको रणनीति अघि सार्नुभएको छ । मेरो आदर्श र सिद्धान्तमा त्यो समाजवाद भन्ने शब्द नै ठीक छैन । कस्तो खालेको समाजवाद ? वैज्ञानिक कि काल्पनिक ? यो स्पष्ट हुनु पर्छ । अध्यक्ष दाहाल भाषण गर्दा वैज्ञानिक समाजवाद भन्नुहुन्छ, लेख्दा वैज्ञानिक छाड्नु हुन्छ । विपीको पनि समाजवाद छ । भारत, अमेरिकाले पनि समाजवादको कुरा गर्छन् । हिटलररको पनि समाजवाद थियो । मेरो प्रश्न आखिर एमाओवादीको समाजवाद चाहिँ कस्तो हो त ? यही कुरा मिलेन र पार्टी छाडेँ ।
तपाईंले जतिसुकै तर्क गरेर पार्टी छाड्नुको कारण सैद्धान्तिक थियो भन्न खोजे पनि आमरुपमै थाहा भएको कारण त बहुविवाह होइन र ?
म तपाईंको प्रश्नमै सहमत छैन । मैले बहुविवाह गरेकै छैन । हुँदै नभएको आरोप पार्टीले पनि लगायो तपाईं पनि त्यही कुरा गर्दैहुनुहुन्छ ।
उसो भए अम्बिका चन्द र उनीबाट जन्मेको बच्चाको बाबु तपाईं होइन ?
म तपाईंलाई स्पष्ट पार्न चाहन्छु कि मैले मेरो पहिलो श्रीमतीलाई अंश दिएर छुट्टयाइसकेको छु । उनीसँग मेरो लिनुदिनु केही छैन । उनीसँग कुरा नमिलेको ८ वर्षपछि मैले अम्बिकासँग विवाह गरेको हुँ । मैले अंश नै दिएर छुट्टयाइसके पछि पनि बहुविवाह हुन्छ ?
कुन अदालतमा कुन मितिमा तपाईं र पहिलो श्रीमतीबचि पारपाचुके भयो, तपाईं प्रमाण देखाउन सक्नुहुन्छ ? कानूनी हिसाबमा पारपाचुके नभएकै अवस्थामा अर्को विवाह गरेपछि त्यो बहुविवाह नभएर के हुन्छ ?
त्यो पनि कुनै ठूलो कुरा होइन । कानुनी हिसाब पनि मिल्ने अन्तिम चरणमा छ । त्यो मिलाउँदै जाउँला । मिलाउँदै जाउँला भन्ने उधारो कुरा गर्नुहुँदो रहेछ, अनि तपाईँलाई कारबाही नगरेर पार्टीले कसलाई कारबाही गर्ने ? पार्टीमा कारबाहीयोग्य धेरै छन् । कोही अर्काका श्रीमती बोकेर युरोप घुम्न गएका पनि छन् । घरमा एउटी हुँदाहुँदै अर्काकी पत्नी बिना मगर बोकेर हिँडने प्रकाश दाहाल पुष्पकमल दाहालका साख्खै छोरा हुन् । बोगटी आयोग र शेरचन आयोगले भ्रष्ट भनी किटान गरेका पनि लाजिम्पाट वरिपरि घुमिरहन्छन् । त्यस्तालाई कारबाही नगर्ने अनि मेरो पछाडि लागेकाहरुको कुरा पत्याएर कारबाही गर्नु ममाथिको ठूलो अन्याय हो ।
अरुले अर्काकी पत्नी घिच्याए भन्दैमा तपाईले पनि त्यो गर्न पाउनु पर्छ भन्ने तपाईको दावी हो ?
मेरो दाबी त्यस्तो होइन । मलाई कारबाही गर्ने हो भने अरुलाई पनि हुनु पर्यो भन्ने मेरो भनाइ हो । प्रकाश दाहाल र बिना मगर दुवै विवाहितत तर उनीहरु त प्रचण्डकै वरिपरि घुमिरहन्छन् । अझ बिनालाई त प्रचण्डले कञ्चनपुरबाट संविधानसभा निर्वाचनमा उम्मेदवार नै बनाए । यसो किन भयो ? मिडियाले यो कुरा किन खोज्दैन, किन लेख्दैन ?
अघि भन्नुभएको थियो कि मेरो पछाडि कोही लागेको छ, को लागेको छ तपाईको विरुद्धमा ?
मविरुद्ध षडयन्त्र गर्ने नम्बर एक षडयन्त्रकारी जनार्दन शर्मा ‘प्रभाकर’ हुन् । उनले परिचालन गरेको व्यक्ति प्रभाकरका बहिनी ज्वाईं पत्रकार ओम शर्मा हुन् । यी व्यक्तिहरु मेरोविरुद्ध षडयन्त्र गर्ने व्यक्ति हुन् कि होइनन् भन्ने द्विविधा छ भने स्पष्ट हुन जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई सोधे हुन्छ ।
ल ठीकै छ, तपाईविरुद्ध षडयन्त्र भयो रे, तर तपाईमा सांस्कृति विचलन आएको त मान्नु हुन्छ नि ?
जेठी श्रीमतीसँग कुरा मिलेन । पहिलीलाई मिलाएर मैले अर्की स्वतन्त्र (अरु कसैकी पत्नी नभएकी) कन्यासँग विवाह गरेँ । यसलाई सांस्कृतिक विचलन भनियो । तर एनेकपा माओवादीमा वरिष्ठ–वरिष्ठ नेताका पत्नीहरुले धर्म परिवर्तन गरेर क्रिष्चियन भएका छन् । त्यो सांस्कृति विचलन होइन ? पार्टीका नेता भनाउँदाहरु जपेको मुन्द्रा कानमा लगाउँछन्, त्यो सांस्कृतिक विचलन भएन ? जनसेनाको पेट काटेर करोडौं भ्रष्टाचार गरेर भारतीय बैंकमा रुपैयाँ जम्मा गर्नु सांस्कृति विचलन होइन ? अर्काकी पत्नी बोकेर युरोप जानु सांस्कृति विचलन होइन ? विवाहलाई मात्रै सांस्कृति विचलन भन्नु नै गलत हो । माओले पनि दोस्रोपटक विवाह गर्नुभएको थियो । एंगेल्सले पनि दोस्री प्रेमिका बनाउनु भएको थियो ।
अर्काकी पत्नी बोकेर युरोप भ्रमणमा जाने कुरा पटकपटक भनिरहनु भएको छ, भन्नुस ती को नेता हुन् ?
त्यो कुरा पनि भन्छु । तर अहिले होइन । समय सन्दर्भ मिलेको बेला भन्छु । अहिलेलाई यति कुरा बुझिराख्नुसे कि त्यस्ता नेता एमाओवादीमा छन् । र उनीहरु पार्टीमा सम्मानित भएर बसिराखेका छन् ।
तपाईविरुद्ध पार्टीमा षडेयन्त्र भइरहेको कुरा पार्टीमै छँदा किन नेतृत्व, कार्यकर्ता र जनतालाई भन्नुभएन र अहिले एकाएक पार्टी छाडेपछि भन्नुभयो ?
म त पटकपटक लाजिम्पाट पुगेको छु । तर अध्यक्ष प्रचण्डले कहिले पनि समय दिनुभएन । मलाई स्पष्टीकरण सोधेपछि नौ महिनासम्म प्रचण्डले एकपटक पनि मसँग छलफल गर्न चाहनुभएन । मलाई भेट्नुपर्छ भनेर प्रचण्डले बाहिरबाहिरै कार्यक्रम मिलाएर पार्टी अफिस पनि आउनुभएन । मसँगै लेखराज भट्ट हुँदा उहाँसँग कुरा गर्ने तर मलाई समय नदिने पनि भयो । मैले बुझाएको स्पस्टीकरण अरु साथीहरुलाई पढेर समेत सुनाइएन । जब मैले पार्टी छाड्ने निधो गरेर पत्रकार सम्मेलन आयोजना गरेँ, त्यसको आधा घण्टा अगाडि कार्यक्रम रोक्नु गर्नु भनेर प्रचण्डले अरु कसैलाई फोन गर्न लगाउनुभयो ।
प्रचण्डले नै बेइमानी गरे जस्तो कुरा गर्नुभयो, तर तपाईलाई अघिल्लो निर्वाचनमा उम्मेदवार बनाउने कुरा भएकै थियो त ?
भएको थियो । तर प्रभाकरकी बहिनी (नारायणी शर्मा र पोष्टबहादुर बोगटीका ज्वाईं (निर्मल आचार्य) ले मेरो उम्मेदवारी खोसे । उनीहरुले मात्रै पनि होइन प्रभाकरले गरेको षडयन्त्रअनुसार मैले उठ्ने भनेको क्षेत्रबाट उनीहरुलाई उठाइयो । अनि मलाई समानुपातिकमा राखियो । पछि समानुपातिकमा पनि प्रचण्डले १ करोड ६० लाखमा पूर्वको जाकिर हुसैनलाई पद बिक्री गरे । मलाई दिएनन् ।
भनेपछि तपाईंंले पार्टी छाड्नुको कारण दोश्रो विवाह मात्र नभएर सांसद पद नपाएर पनि रहेछ ?
मान्छेहरुले यसो पनि भन्छन् । र म आफैं पनि सभासद् हुन खोजेको स्वीकार गर्छु । किनभने म आफैंले कतिलाई सभासद् बनाएँ, कतिलाई मन्त्री बनाएँ । मैले विगतमा दाबी गरिनँ । यो राज्य संयन्त्रले सार्वजनिक पद नभएको व्यक्तिलाई गन्दैन रहेछ । त्यही भएर मैले सार्वजनिक पदमा पनि जानुपर्छ, र यो राज्य संयन्त्र बुझ्नु पर्छ भन्ने लागेर सभासद् हुन खोजेको थिएँ ।
अब के गर्नुहुन्छ, कुन पार्टीमा जाने ? नयाँ शक्ति, वैद्य वा विप्लव माओवादी ?
मैले यसबारे निर्णय गरिसकेको छैन । प्रचण्ड र बाबुराम दुवै काल्पनिक समाजवादको कुरा गर्छन् । बाबुरामले पार्टीकै झन्डा फालेर हिँडे । उनी पूँजीवादीधारका हुन्, जो खुलेरै भन्थे । प्रचण्डको धार पनि पूँजीवादी नै हो । उहाँ भन्नुहुन्न । वैद्य माओवादी रुढीवादी छ । विप्लवले एकीकृत क्रान्तिको अवधारणा अघि सार्नुभएको छ । उहाँहरुसँग मेरो छलफल केही भएको छ । केही भएको छैन । छलफल गर्दा जसले मलाई चित्त बुझाउन सक्छ, त्यति जान्छु । भएन भने क्रान्तिको झिल्को म आफैं कोर्छु ।

,

0 comments

Write Down Your Responses