काठमाडौं, २८ पुस । प्रहरीले समाजबाट गुण्डागर्दी निमिट्यान्न पार्न विशेष अप्रेशन चलाएर धमाधम गुण्डा नाइके समातिरहेको बेला अर्का मोस्ट वान्टेड गुण्डा नाइके अभिषेक सुनार पनि पक्राउ परेका छन् ।
जग्गा कारोबारीलाई डरत्रास देखाएर जबर्जस्ती पैसा असुली र सिधैं सांघातिक आक्रमण गर्ने कास्कीको लेखनाथ-१ पटनेरीका अभिषेकलाई प्रहरीले सोमबार पक्राउ गर्न सफल भएको हो ।
अभिषेक पोखराका चर्चित गुण्डाका रुपमा चिनिन्छन् । उनले एक वर्षअघि पोखरा अमरसिंहचोकका वीरेन्द्र थापा र युवराज थापालाई खुकुरी हानेर घाइते बनाएका थिए । पछिल्लोपटक उनले पोखरा-१० अमरसिंहचोकमा तुलवीर विक सुरजलाई खुकुरीले छप्काएर घाइते बनाएका थिए । व्यवसायीहरुलाई धम्क्याउने काम पनि उनले गर्दै आएका थिए ।
तुलवीरलाई छप्काएर फरार रहेका अभिषेकलाई कास्की प्रहरीले गुन्डा नाइके र मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरेको झण्डै डेढ महिनापछि लागुऔषधसहित पक्रेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले अभिषेकलाई पोखरा–१७ तीनकुने चोकबाट लागुऔषधसहित रंगेहात पक्राउ गरेको बताए । पक्राउ पर्दा उनले १० ग्राम खैरो हिरोइन बोकेका थिए ।
उनलाई सोमबारै कास्की जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी हिरासतमा राखिएको छ ।
अभिषेकलाई प्रहरी इन्स्पेक्टर उमाशंकर प्रसाद साहको टोलीले पक्रेको हो । अभिषेकलाई समात्नु त्यति सजिलो थिएन । अभिषेकले डेढ महिनाकोमा १३ वटा मोबाइल सिम फेरे । सिम र ठाउँ परिवर्तन गरिरहेकाले अभिषेकलाई समात्न कठिनै पर्यो । तर, अन्तिममा पोखरा–१७ तीनकुने चोकबाट इन्स्पेक्टर उमाशंकरको कमान्डमा खटिएको प्रहरी टोली अभिषेकलाई पक्राउ गर्न सफल भयो ।
अभिषेक भारत र तराई मधेसमा लुकेर फेरि लेखनाथकै व्यवसायीलाई धम्क्याउँदै धन्दालाई निरन्तरता दिँदा दिँदै घर आउन लागेको सुइँको पाएपछि उमाशंकरको टोलीले पिछा गरेर समातेको हो ।
अर्का मोस्ट वान्टेड गुण्डा नाइके अभिषेक सुनार पनि रंगेहात पक्राउ
0 comments
Write Down Your Responses