नयाँ वर्ष २०१६ मा भेडेटारमा खाना महोत्सव
धनकुटा: पूर्वको प्रख्यात पर्यटकीय स्थल भेडेटारमा चौथो खाना महोत्सव हुने भएको छ।
अंग्रेजी नयाँ वर्ष २०१६ को अवसर पारेर पुस १६ देखि १८ सम्म खाना महोत्सव आयोजना गर्न लागिएको भेडेटार होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावतीले बताए। महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्री प्रदर्शनीमा राखिने छ। सो अवसरमा प्याराग्लाइडिङ र माउन्टेन बाइकको पनि व्यवस्था गरिएको छ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछि भारतको अघोषित नाकाबन्दीले थलिएको भेडेटारको होटेल व्यवसायलाई उकास्न महोत्सवले सहयोग गर्ने विश्वास लिइएको एसोसिएसनका सचिव जितेन्द्र राईले बताए।महोत्सवमा १० हजार अवलोकनकर्ता आउने र २० लाख रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने अपेक्षा आयोजकको छ।
फेस्टिबलमा राष्ट्रिय र स्थानीयस्तरका कलाकारको सांगीतिक प्रस्तुति पनि रहनेछ। महोत्सव अवधिभर भेडेटारका होटेलमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
महोत्सवमा आउने पर्यटकलाई भेडेटार गाविसभित्र रहेको साँगुरी यक गदी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार गुम्बालगायतका ठाउँ घुमाइनेछ।
त्यस्तै मगर, लिम्बू, राई र याखा जातिको सास्कृतिक झाँकीको समेत मनोरञ्जन लिन सक्ने आयोजकले जनाएका छन्।
0 comments
Write Down Your Responses