आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नाटक
मंसिर १५, २०७२- जारी मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै मंगलवार मिथिला नाट्यकला परिषद्ले सडक नाटक प्रदर्शन गरेको छ । रामानन्दचौकस्थित मुख्य सडकमा प्रर्दशित ‘अधिकारक विगुल’ नाटक हेर्न तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगै हजारौं दर्शक उपस्थित थिए ।
मिथिलाञ्चलको पारम्परिक ‘झिझिया’ गीतबाट सुरु भएको नाटकमा हाँस्य व्यङ्गसँगै मधेस आन्दोलनको क्रममा राज्यद्वारा गरिएको चरम दमनको हृदयविदारक तस्बिर प्रस्तुत गरिएको थियो । आन्दोलनमा प्रहरी गोली लागेर चार वर्षीय बालक, ७० वर्षीय बृद्धको मृत्यु भएको घटनालाई नाटकमा प्रस्तुत गरिएको थियो ।
नाटक मार्फत सरकारमा रहेकाहरुले आफ्नोसत्ता टिकाई राख्न अख्तियार गर्दै आएको ‘डिभाइड एण्ड रुल’ नीतिलाई प्रस्टाइएको थियो । आन्दोलनलाई परिणाममुखी बनाउन मधेस केन्द्रित दलका नेताहरुलाई सचेत समेत गराइएको थियो ।
दाँतको पिडाका वावजूद पनि विद्युतीय रिक्सा चढेर पार्टी उपाध्यक्ष बृषेशचन्द्र लालसहित नाटक हेर्न आएका तमलोपा अध्यक्ष महन्थ ठाकुरले नाटक रचनात्मक तथा प्रभावकारी भएको प्रतिकृया दिए । उनले भने। ‘जारी मधेस आन्दोलन परिणाममुखी हुन्छ । तपाईंहरु चिन्ता नलिनुस् ।’
तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले नाटकको कथावस्तु तथा अभिनेता अभिनेतृहरुको अभिनयको प्रशंसा गरे । उनले भने, ‘नाटकको थिम आन्दोलनलाई निरन्तरता दिनु हो । परिणाम ननिस्केसम्म आन्दोलन जारी रहन्छ ।’
सुनिल मिश्र, मदन ठाकुर, रामनारायण ठाकुर, विष्णुकान्त मिश्र, गंगाकान्त मिश्र, परमेश झा, अनिलचन्द्र झा, अनितारानी मण्डल रामकैलाश ठाकुर, सुरेन्द्र राय, धीरज ठाकुर, संदीपल, बालकलाकार आलोक मिश्रगायतले अभिनय गरेको नाटकमा सुनिल मल्लिक, ललित कापर, संगीता देवले गीत गाएका थिए ।

0 comments
Write Down Your Responses