भारतीय नाका बन्दि विरुद्ध अष्ट्रेलियाको संसद भवनअघि विरोध प्रदर्शन गरिने

मंसिर १५, २०७२- भारतले लगाएको नाकाबन्दीको विरोध र यसलाई अन्तर्राष्ट्रिय रुपमा जानकारीमा ल्याउने उद्देश्यका साथ अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलिायस्थित संसद भवनअघि विरोध प्रदर्शन गर्ने भएका छन् । प्रवासी नेपाली संगठन अष्ट्रेलियाको अगुवाईमा यही बिहीबार बिहान हुन लागेको उक्त विरोध कार्यक्रममा अष्ट्रेलियाका विदेश मन्त्री लगायतलाई अहिलेको नेपालमा भइरहेको नाकाबन्दीको बारेमा ज्ञापनपत्र समेत बुझाइनेछ । भारतले बिगत केही महिनादेखि नेपालमा गैरकानुनी रुपमा लगाएको नाकाबन्दीलाई विश्वब्यापीकरण गर्ने कार्यक्रमका साथ अघि बढेको एनआरएन अष्ट्रेलियाले उक्त कार्यक्रमको आयोजना गरेको हो ‘एउटा भुपरिवेष्ठित मुलकका रुपमा नेपालले पाउनुपर्ने पारवहन अधिकार हनन भएको बारेमा हामी अष्ट्रेलिया सरकारका विदेशमन्त्री र विपक्षी दलका छाया विदेशमन्त्रीलाई यसबारेमा जानकारी दिनेछौं ।’ एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालले कान्तिपुरसँग भने । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीका अनुसार बिहीबार विहान नौ बजेदेखि आधाघण्टा क्यानबेरामा रहेको संसद भवन अगाडि भारतीय नाकाबन्दीको विरोध गर्दै प्रदर्शन गरिनेछ भने विदेशमन्त्री जुलि विशप र विपक्षी दल लेबरकी छाया विदेशमन्त्री तान्या पिबरसेकलाई ज्ञापनपत्र बुझाइनेछ । त्यसैगरि संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई समेत नेपालको वर्तमान अवस्था र भारतीय नाकाबन्दीका बारेमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ भने क्यानबेरामै रहेको भारतीय दुतावासमा समेत ज्ञापनपत्र बुझाइनेछ । ‘हाम्रो चाहना भनेको भारतीय नाकाबन्दीका कारण अहिलेको नेपाली जनजीवनमा परेको असरका बारेमा अन्तर्राष्ट्रिय स्तरमा समेत जानकारी गराउने हो, प्रवक्ता डा. रेग्मीले भने– हामी अष्ट्रेलिया सरकार, विपक्षी दलमात्र नभएर भारतीय दुतावास मार्फत समेत यो समस्याको छिटो समाधानका लागि आग्रह गर्नेछौं ।’ क्यानबेरामा भेला हुने नेपालीहरुले नेपाली दुतावास मार्फत मधेसको समस्या आफ्नो समस्या भएकाले आफै समाधान गर्न दबाब दिने उद्देश्यले नेपाल सरकारलाई पनि ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । मधेशमा विगत दुई महिनादेखि जारी आन्दोलनले जनजीवन अस्तब्यस्त भएकाले उक्त समस्यालाई वार्ता र सहमतीको माध्यमबाट टुङ्गो लगाउन आग्रह गरिने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले जानकारी दिए । ‘हामी प्रवासमा रहेका नेपालीहरुको आवाजलाई पनि हाम्रो सरकारले सुन्नुपर्छ र घरको समस्या आपसी छलफलबाटै समाधान गर्नुपर्छ भन्ने आग्रहका साथ हामीले नेपाली दुतावासमार्फत सरकारलाई आग्रह गर्नेछौं,’ उपाध्यक्ष पोखरेलले भने ।

,

0 comments

Write Down Your Responses