"गाउँमा रेम्पोर्छे आउदा" एउटा अविस्मरणीय धार्मिक यात्रा


एउटा लामो लाइन, सबैको उस्तै पहिरन अनि सबैले एउटै शब्द गुनगुनाउँदै हिँडेका। शान्तिपूर्वक हिँडेको यो लस्कर बाटोमा देखेर वनका चराचुरुंगी पनि एकछिन उनीहरूसँगै केही समय सुनसान भएर बसेका छन्। यस्तो यात्रामा सधैं हल्लाखल्ला गर्नेहरू यसरी शान्त भएर हिँडेको देख्दा चरा चुरुंगीहरू पनि अचम्ममा परे होलान्, र त उनीहरू पनि यो शान्ति यात्रालाई शान्त भएर नै सहयोग गरे।
१०, २० वा ५० जनाको होइन पुरै २ सय ५० जनाको लस्कर पहिलो पटक अनि एउटै पहिरनमा देख्दा गाउँवासी पनि अचम्मित भएका थिए। यति ठुलो टोली आफ्नो गाउँमा आउँदा गाउँवासी दंग थिए। अगाडि–अगाडि रिम्पुर्छे अनि उनीसँगै हिँड्नेले सुरु गर्ने ‘ॐ माने पद्मे हुँ’ अनि पछि हिँड्ने सबैले यही मन्त्र भन्दै हिँड्दा सायद भगवान् बुद्ध पनि यही बाटो हिँड्दै छन् कि भन्ने आभास हुन्थ्यो। ढुप्रेकार नेपाल र लिभ टु लभ नेपालको संयुक्त आयोजनामा भएको आठदिने पैदल यात्रामा देखिएको दृश्य यस्तै थियो। एउटा ठुलो समूह भए पनि सबै एक आपसमा हल्ला नगरी शान्तपूर्वक हिँडेका थिए। प्रायः यस्ता यात्रामा ठुलै हल्लाखल्ला हुन्छ, मदिराको सेवन अनिवार्यजस्तै हुन्छ, बिहान उठ्ने र सुत्ने बेलामा पनि हल्ला नै हुन्छ। तर, यो पदयात्रामा न एकजनाले मदिरा, खैनी, चुरोट वा अन्य केही सेवन गरेको देखियो न त बिहान उठ्दा र बेलुकी सुत्दा नै हल्लाखल्ला सुनियो। बिहान सबेरै सबै पदयात्री उठ्छन् अनि नित्य कर्म सकेर रिम्पुर्छेसँगै पूजापाठमा व्यस्त। मंसिरको चिसो ठन्डीमा पनि बिहानै सबै पदयात्री पूजापाठमा व्यस्त। हेलम्बु गाविसको तिम्बुबाट सुरु भएको पैदलयात्रा सदरमुकाम चौतारामा आएर सकिएको थियो। आफ्नो गाउँमा रिम्पुर्छे (अवतारी लामा) आउँदै छन् भन्ने हेलम्बु र जसन ठाउँमा पैदलयात्रा हुँदै थियो । त्यस आसपासका स्थानीयले एक साताअघि नै थाहा पाएका थिए। रिम्पुर्छेलाई देख्न र उनीसँग आशीर्वाद मात्रै लिन पाए पनि स्वर्ग पुगिने विश्वासमा विशेषगरी बौद्ध धर्मावलम्बीहरू रिम्पुर्छेको स्वागतका लागि बिहानैदेखि बाटो बाटोमा बसेका थिए। बिहानदेखि बसेका स्थानीय रिम्पुर्छे आउने बाटोमा राति अबेरसम्म पनि हातामा खादा लिएर बाटो–बाटोमा बसेका थिए। हेलम्बु गाविस–७ सरकथलीका ८० वर्षीया लाक्पा शेर्पा आफ्नै गाउँमा रिम्पुर्छे आउने खबर आएपछि निकै उत्साही थिइन् । ‘अब भने स्वर्गमा पुगिन्छ। उनीलाई रिम्पुर्छेमाथि धेरै विश्वास थियो,’ उनी भन्दै थिइन्, ‘गुरुको आशीर्वादका लागि यहाँ बिहानैदेखि बसेको छु।’ शान्ति पदयात्रामा बौद्ध धर्मगुरु क्याब्जे खाम्टुल रिन्पोर्छेसहितका लामा भिक्षुहरू सहभागी भएका थिए।
काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बामा बढी बस्ने खाम्टुल रिन्पोर्छेलाई बौद्ध धर्मावलम्बीहरू नवौं अवतारीको रूपमा पुज्ने गर्छन्। १२ वैशाखको भूकम्पले धेरै जनधनको क्षति भएको र सिन्धुपाल्चोकमा धेरैले अकालमै ज्यान गुमाएपछि उनीहरूको भड्किएको आत्मालाई शान्ति गर्नका लागि यस्तो पदयात्राको आयोजना गरिएको लिभ टु लभका प्रेम लामाले जानकारी दिए। मृतात्मको सम्झना र भूकम्पको त्रास तथा पीडा भुलाउनका लागि यस्तो पदयात्राको आयोजना गरिएको लामाले बताए। पदयात्रामा सहभागी सिन्धु वेलफेयर अमेरिकाका सभापति वंशलाल तामाङका अनुसार यस्तो पदयात्रा नेपालमा नै पहिलो पटक आयोजना गरिएको बताए। ‘यसरी भिक्षुहरू सहभागी भएको यस्तो शान्ति पदयात्रा नेपालमा नै पहिलो पटक हो,’ लामाले भने, ‘त्यसमा पनि यो सिन्धुपाल्चोकमा नै आयोजना हुन जिल्लावासीका लागि गर्व हो ।’ रिम्पुर्छे प्रवचनका लागि अमेरिकामा गएको समयमा सिन्धुपाल्चोकमा भूकम्पमा धेरैले ज्यान गुमाएको र पदयात्रा सिन्धुपाल्चोकमा नै गर्न आग्रह गरेपछि रिम्पुर्छे तयार भएको लामाले जानकारी दिए। शान्ति पदयात्राको क्रममा भूकम्पमा परी मृत्यु भएका सबै समुदायका मृतकको नाममा रिम्पुर्छे र लामा भिक्षुहरूले पूजापाठ गरेका थिए। भूकम्पमा सबैभन्दा धेरै मृत्यु भएको बरुवा गाविसमा रिन्पोर्छेले मृतकहरूको नाममा ठुलो पूजा गरेका थिए। भूकम्पमा हेलम्बु घ्याङगुलका स्थानीय काजी लामाकी श्रीमती छवाङ डोल्मा, बुहारी तेन्जिनजाङमु लामा र नातिनी दावा जाङमुको निधन भएको थियो। आफ्नै गाउँमा रिम्पुर्छे अवतारी लामा आउने र मृतकहरूको नाममा पूजा पाठ गर्ने अवर पाएपछि उनी खुसी हुँदै रिम्पुर्छे आउने बाटो हेरेर बसेका थिए। ‘हाम्रो धर्मअनुसार उहाँ गुरुले पूजा गरिदिनुभयो भने पुण्य मिल्छ, त्यसैले अब मेरा सन्तानहरूलाई पनि उहाँले पूजा गरिदिएपछि पुण्य मिल्ने भयो,’ लामाले भने। 
 के रिम्पुर्छे (अवतारी) होला त ?
 बौद्ध धर्मावलम्बीहरू रिम्पुर्छे हुनेमा विश्वास गर्छन्। बौद्ध धर्ममा चार सम्प्रादाय हुने गर्छ। निङमा ककीयु, घेलुक र शाक्य। शान्ति पदयात्रामा आएका रिम्पुर्छे ढुक्पा ककीयु साम्प्रदायिकका थिए। उनी नवौं अवतारी रहेको र उनको पछिल्लो जन्म भुटानमा भएको विश्वास गरिन्छ। ढुक्पा ककीयु सम्प्रदायको हेलम्बु गाविसमा रहेको मेलरेपा गुम्बा ऐतिहासिक गुम्बा हो। पदयात्रामा आएका रिम्पुर्छेका गुरुले पनि यो गुम्बामा आएर ध्यान गरेकाले अहिलेका रिम्पुर्छे पनि यो गुम्बामा आएको स्थानीयको भनाइ थियो। बौद्ध धर्मावलम्बीहरू रिम्पुर्छे अवतारी हुनेमा विश्वास गर्छन्। रिम्पुर्छे जुन गुम्बामा बस्छन् उनको मृत्यु हुने बेलामा एउटा कागजमा अब मेरो जन्म यो दिशामा हुन्छ भनेर लेखेर राख्ने र उनको मृत्यु भएपछि त्यो कागज हेरेर नयाँ जन्मने बच्चाको खोजी हुन्छ। बच्चा फेला परेपछि पहिलेको रिन्पोर्छेले प्रयोग गर्ने सबै सामग्री त्यो बच्चाले चिन्ने भएकाले ऊ नै रिम्पुर्छे अवतारी हुने बौद्ध धर्मावलम्बीहरूको विश्वास छ। सहयोग पनि शान्ति पदयात्राको क्रममा भूकम्पले ध्वस्त भएका ६ ओटा गुम्बा र हेलम्बुको तिम्बुमा रहेको गोल्मेश्वरी माविलाई लिभ टु लभले सहयोग गरेको थियो। हेलम्बु गाविसको तिम्बुबाट सुरु भएको शान्ति पदयात्रा हेलम्बुको मेलरेपा घ्याङगुल, सेर्माथाङ, बरुवा, थाङपालधाप, गुन्सा, थाङपालकोट, भोटेनाम्लाङ, दुवाचौर, स्याउलेको ओखरेनी हुँदै चौताराको स्थानीय गुम्बामा आएर प्रवचनपछि सकिएको थियो। पदयात्रामा नेपाल, भारत, भियतनाम, ताइवान, जर्मनी, जापान र भुटानका भिक्षुहरू सहभागी थिए। त्यस्तै, नेपालको सिन्धुपाल्चोक, रसुवा, काभ्रे र नुवाकोटका विभिन्न गुम्बाका भिक्षुहरू शान्ति पैदलयात्रामा सहभागी भएका थिए।

,

0 comments

Write Down Your Responses