अस्तव्यस्त पढाइ (मन्त्रि भान्नुहुन्छा एफएम रदियोबाट कोर्स पुरा गर्छु)
मंसिर १२, २०७२- बूढानीलकण्ठ विद्यालयमा आवासीय रूपमा पढ्ने एक हजार ३५ विद्यार्थी छन् । उनीहरूका लागि खाना पकाउन दैनिक १२ सिलिन्डर ग्यास चाहिन्थ्यो । ग्यास नपाएपछि दाउरामा मुस्किलले पकाउँदै आए पनि अब खाद्यान्नको समेत समस्या थपिएको छ । ‘विद्यालय हातामै रहेका रूख काटेर काम चलाइरहेका छौं,’ प्रधानाध्यापक केशर खुलालले भने, ‘अब त खाद्यान्न पनि पाउन गाह्रो भो । तेल, दाल, चिनी सहज रूपमा पाइँदैन । आपूर्ति गर्ने ठेकेदारले दिन नसक्ने भन्दै ठेक्का तोड्छु भन्न थालेको छ ।’
विद्यार्थीलाई निर्बाध पढाउनुपर्ने शिक्षालयहरूको व्यवस्थापन अब खाना र इन्धनतिर केन्द्रित हुनुपरेको छ । तराई आन्दोलन र नाकाबन्दीले २० प्रतिशत विद्यालयमा असर परेको शिक्षा मन्त्रालयले जनाएको छ । यो तराईका विद्यालयसमेत हो । तराई क्षेत्रमा आन्दोलन सुरु भएयता विद्यालय सञ्चालन र पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।
मध्य र पूर्वी तराईका ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सामा साउनदेखि रोकिएको पढाइ केही दिनअघिबाट बिहान हुन थालेको छ । बिहान चिसो हुने भएपछि पढाइ प्रभावकारी हुन सकेको छैन । तराई आन्दोलन र नाकाबन्दीले करिब १६ प्रतिशत (करिब १२ लाख) विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएका छन् । ३५ हजार विद्यालयको करिब २० प्रतिशत विद्यालय प्रभावित भएको मन्त्रालयले जनाएको छ । ‘यसको कारण विद्यार्थीले वर्षभरिमा पूरा गर्नुपर्ने पाठ्यभार कठिनाइ भएको छ,’ मुलुककै शैक्षिक अवस्थाबारे योजना आयोगलाई जानकारी गराउँदै मन्त्रालयले देखाएको छ ।
नाकाबन्दीले काठमाडौं उपत्यकामा ३० प्रतिशत विद्यार्थी प्रभावित भएको मन्त्रालयको अनुमान छ । एक हजार चार सय संस्थागत विद्यालयमा ७ लाख विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीहरू प्रभावित भएका हुन् । उपत्यकाका सामुदायिक विद्यालयमा नाकाबन्दीको प्रभाव न्यून छ । ‘विद्यार्थीको ओसारपसार, छात्राबास सञ्चालन गर्न कठिनाइ भई त्यस्ता शिक्षण संस्थाहरू बन्द भएका छन्,’ मन्त्रालयले आयोगमा पठाएको पत्रमा भनिएको छ, ‘यी शिक्षण संस्थाहरूले शिक्षा नियमावली बमोजिम न्यूनतम कक्षा सञ्चालन गर्नुपर्ने एक सय ९२ दिन अन्य बिदाबाट समायोजन गर्नुपर्ने हुन्छ ।’
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ इन्धन अभावले करिब २५ प्रतिशत विद्यार्थी अध्ययन अध्यापनबाट प्रभावित बनेका छन् । यसैगरी तराई आन्दोलनबाट करिब ६ प्रतिशत विद्यार्थी प्रभावित भएको मन्त्रालयले जनाएको छ । उच्च शिक्षातर्फ ६ लाख ५२ हजार विद्यार्थीमध्ये करिब १३ प्रतिशत प्रभावित भएका छन् । परीक्षाको समयतालिका परिवर्तन गर्नुपर्दा शैक्षिक क्यालेन्डरमा ठूलो दबाब पर्न गएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले नाकाबन्दी र तराई आन्दोलनले तिहारपछि कलेज खुल्दा पनि विद्यार्थीहरू कक्षामा नआएको बताए । ‘ग्यास र खानेकुराको अभावले दसैंतिहारमा घर गएका विद्यार्थी अझै फर्केका छैनन्,’ उनले भने, ‘निर्बाध रूपमा परीक्षा सञ्चालन गर्न पनि समस्या भयो ।’ विद्यार्थी नआएकै कारण त्रिविका केही केन्द्रीय विभागमा कक्षा सञ्चालन नभएको उनले बताए ।
त्रिवि परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार तराईमा स्नातक पहिलो वर्षको परीक्षा लिन सकिएको छैन । उनका अनुसार मंसिर २४ देखि विगतमा छुटेको परीक्षा लिने योजना छ । मंसिर २० देखि स्नातकोत्तर पहिलो वर्षको परीक्षा हुँदैछ । यो परीक्षा पनि कसरी सञ्चालन गर्ने भन्ने अन्योल सुरु भएको छ । महिनौंअघि भएको परीक्षाको नतिजासमेत सार्वजनिक गर्न सकिएको छैन । तेल अभावले शिक्षकहरू उत्तरपरीक्षण गर्न केन्द्रसम्म आउन नसकेको भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा पर सारेको छ ।
निजी विद्यालयको छाता संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले होस्टलमा विद्यार्थी राख्ने कतिपय विद्यालयले सहज दाउरा नपाउँदा खाना खुवाउन हम्मेहम्मे भएको बताए । ‘बसमा त सातामा दुई दिन इन्धन उपलब्ध गराउने भनेको छ,’ उनले भने, ‘एसएलसीको समय नजिकिएकाले होस्टेलमा बस्ने विद्यार्थीको संख्या बढ्दै छ । दाउरामा कति दिन
पकाएर खुवाउने ?’
लिटिल एन्जेल्स स्कुलमा एक छाकमा खाना खाने नौ सय विद्यार्थी छन् । उनीहरूलाई पनि दाउराबाट पकाएर खुवाउने गरेका छन् । ‘पाँचजनाको परिवारलाई खाना खुवाउन त कति गाह्रो हुन्छ,’ विद्यालय सञ्चालक एवं हिसानका अध्यक्ष उमेश श्रेष्ठले भने, ‘सयांै विद्यार्थीलाई दाउरामा पकाएर खुवाउनु चानचुने कुरा होइन ।
इन्धनको सहज व्यवस्था नभएपछि कतिपय विद्यालयले बस सञ्चालन गर्न सकेका छैनन् । आयल निगमले विद्यालयको सवारीलाई सातामा दुई दिन इन्धन वितरण गर्ने निर्णय गरे पनि सहज रूपमा हुन नसकेको हिसान अध्यक्ष श्रेष्ठले बताए । ‘निश्चित पम्प भनेर छुटयाइएको छैन,’ उनले भने, ‘अरू सवारी जस्तै घण्टौं लाइनमा राख्नुपर्ने हुन्छ । लाइनमा राख्दा विद्यार्थी ल्याउन र पुर्याउन समस्या भयो ।’
निगमले विद्यालयको रातो नम्बर प्लेटको सवारीलाई मात्रै इन्धन दिने व्यवस्था गरेको छ । आफ्नो बस नहुने र भाडाको बसमा विद्यार्थी ओसार्ने विद्यालयले वैकल्पिक व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । ‘हामीसँग आफ्नै बस छैन,’ सेन्ट जेभियर्सका प्रधानाध्यापक अमृत राईले भने, ‘भाडाको बसबाट विद्यार्थी ल्याउने/लैजाने गरेका छौं । तेल नभए कक्षा सञ्चालन गर्न सकिँदैन ।’ कतिपय विद्यालयले महँगोमा इन्धन खरिद गरेर बस सञ्चालन गरिरहेको सञ्चालकले बताएका छन् ।
तेल अभावमा निजी विद्यालय सञ्चालन नभए पनि अभिभावकले पढाइ नभएको समयको शुल्क तिर्न बाध्य छन् । विद्यालयहरूले पनि शिक्षकहरूको तलब दिइरहेको छ । मन्त्रालयले तयार गरेको प्रतिवेदनअनुसार कतिपय अवस्थामा बन्दका कारण तलबभत्ता भुक्तानी गर्न सकिएको छैन । ढुवानीमा देखिएको समस्याले विद्यालय तहको पुस्तक छपाइ निर्बाध हुन सकेको छैन । बेलैमा कागज खरिद गर्न समस्या भएकाले पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ ।
शिक्षा मन्त्रालयले तराई आन्दोलन र नाकाबन्दीले शिक्षा क्षेत्रमा परेको समस्या समाधान गर्न विद्यालयहरूले हिउँदे र वर्षे बिदाबाट तोकिएको पाठ्यभार पूरा गर्नुपर्ने वैकल्पिक व्यवस्था ल्याउन लागेको छ । रेडियो, टेलिभिजन, इन्टरनेटको माध्यमको प्रयोग गरेर वैकल्पिक शिक्षण सिकाइ पद्धतिसमेत अवलम्बन गर्नुपर्ने छलफल अघि बढाएको छ । विद्यार्थी आवतजावत गर्न विद्यालयलाई विशेष रूपमा इन्धन उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको छ । मन्त्रालयले छात्रबास र क्यान्टिनमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने उपायसमेत अघि सारेको छ ।
एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खोल्नुपर्ने र एक सय ९० दिन पढाइ हुनुपर्ने सामान्य अवस्थामा मात्रै लागू हुन्छ । पठनपाठन सिकाइसँग सम्बन्धित हुन्छ । असामान्य अवस्थामा सामान्य ढंगमा जस्तो मान्यताले सोच्नु हुँदैन । विद्यार्थी सिकाइ उपलब्धि बढाउन र कोर्स पूरा गर्न विशेष गरी तराईका आठ जिल्लामा एफएम रेडियोबाट पठनपाठन गराउन लागेका छौं । यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
वैकल्पिक उपाय खोजिँदै छ
एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खोल्नुपर्ने र एक सय ९० दिन पढाइ हुनुपर्ने सामान्य अवस्थामा मात्रै लागू हुन्छ । पठनपाठन सिकाइसँग सम्बन्धित हुन्छ । असामान्य अवस्थामा सामान्य ढंगमा जस्तो मान्यताले सोच्नु हुँदैन । विद्यार्थी सिकाइ उपलब्धि बढाउन र कोर्स पूरा गर्न विशेष गरी तराईका आठ जिल्लामा एफएम रेडियोबाट पठनपाठन गराउन लागेका छौं । यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
टेलिभिजनबाट पनि पढाउने तयारीमा छौं । हामीलाई नयाँ प्रविधितर्फ अघि बढ्न बाध्य बनाएको छ । शुक्रबार पूरा समय पढाइ हुन्छ । छुट्टीका दिन पनि पढाउने व्यवस्था मिलाउँछौं । तराईमा अहिले बिहान पठनपाठन सुरु भएको छ । यो समस्या समाधान गर्न विद्यालय व्यवस्थापन समितिको मात्रै नभई अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । काठमाडौं होस्टेलमा रहेका विद्यार्थीका लागि खाना पकाउन दाउरा, विद्युत् र ब्रिकेटको प्रयोग गर्न सकिन्छ ।

0 comments
Write Down Your Responses