पोलियो खोप केन्द्रलाई लक्षित गर्दै बम विष्फोट, १४ जनाको मृत्यु

पाकिस्तानमा सुरक्षा घेरामा पोलियो थोपा खुवाइँदै । तस्वीर : एएफपी २९ पुस, काठमाडौं । पोलियो खोप केन्द्रलाई लक्षित गर्दै पाकिस्तानको क्वेटा शहरमा गराइएको बम विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा अधिकांश सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने खोप केन्द्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई लक्षित गरी बम विष्फोट भएको थियो । बलुचिस्तान प्रान्तका एक मन्त्री शरफराज बुगटीका अनुसार स्वास्थ्य कार्यकर्ताहरु आफ्नो इलाकामा जानु अघि रिपोर्ट गर्न जम्मा भएका बेला विस्फोट भएको हो । विष्फोटको जिम्मा कसैले लिएको छैन तर, चरमपन्थी समूहले पोलियो खोपको विरोध गर्दै आक्रमण गर्दै आएका छन् । त्यसैले पोलियो थोपा खुवाउने अभियानमा सुरक्षाकर्मीहरु परिचालन हुनु पाकिस्तानमा सामान्य मानिन्छ । चरमन्थीहरुले बालबालिकाहरुलाई नपुंसक बनाउने पश्चिमी देशको षडयन्त्रअनुसार पोलीयो खोप अभियान चलाइएको आरोप लगाउने गरेका छन् । पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो रोगको महामारी छ ।

,

0 comments

Write Down Your Responses