दुर्लभ पंक्षी हुचिलको बच्चा चोरी तस्करी सहित दुईजना पक्राउ

इटहरी: विश्वमा नै दुर्लभ पक्षीका रुपमा मानिएको हुचिलको बच्चा चोरी तस्करी हुने गरेको तथ्य इटहरीमा फेला परेको छ। इलाका प्रहरी कार्यालय इटहरीले आइतबार सुराकीका आधारमा इटहरीको मुख्य बजारको टेङ्ग्रा खोला नजिकबाट विश्वमै दुर्लभ मानिएको छवटा हुचिलका (चल्ला) बच्चासहित दुई युवालाई पक्राउ गरेपछि दुर्भल पक्षीको पूर्वी नेपालबाट तस्करी गरिँदै गरेको तथ्य बाहिर आएको छ। इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीका अनुसार पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१३ का विशाल तामाङ र रोजन भुजेल रहेका छन्। उनीहरुसँगै को१५प ५७३८ नंको मोटरसाइकल बरामद गरिएको छ। हुचिल अन्तर्राष्ट्रिय साइटिस महासन्धिको अनुसूची २ मा विश्वकै दुर्लभ पक्षीको सूचीमा सूचीकृत पक्षी हो। विश्वका सौखिन मान्छेहरुले उपयोगमा ल्याउने गरेको हुचिल, ओकेटोके तथा द गुहे किरा भनेर स्थानीयवासीले चिन्ने किरालगायतका जीवजन्तु र पक्षीको व्यापक रुपमा चोरी तस्करी हुने गरेको हल्ला यो तथ्यबाट खुलिरहेको छ। यी पशुपक्षी तथा किटाणुको विश्वव्यापी चोरी तस्करी गर्ने गराउने गिरोहले स्थानीयवासी सोझा सिधा नेपालीलाई थाहै नदिई यस प्रकारको तस्करीमा लगाउने गरेको हुन सक्ने र सोझा नेपालीले आफ्नो गाउँ बस्तीका त्यस्ता पक्षी तथा किरा सङ्कलन गरेर भनिएको ठाउँसम्म पुर्‍याइदिने भरियाको काम गर्दै आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पूर्वी नेपालको ताप्लेजुङ र पाँचथर जिल्लामा यसअघि पनि हुचिल तस्करीका घटना बाहिर आए पनि सुनसरी, मोरङमा यस किसिमका घटना बाहिर आएको यो नै पहिलो हो। हुचिलको बच्चा खाडी मुलुक साउदी अरब, कतारलगायतका देशमा प्रतिवटा रु पाँच लाखमा बिक्री हुने गरेकाले यसको तस्करी गिरोह पनि ठूलै हुन सक्ने प्रहरी उपरीक्षक अधिकारीको भनाइ रहेको छ। प्रहरीले विशेष सुराकीका आधारमा आइतबार बिहान २ बजे इटहरी-१ स्थित पूर्व बसस्टेसन नजिकबाट जेब्रा झोलामा लुकाएको छवटा हुचिलको चल्ला र त्यसको आहाराका रुपमा प्रयोगमा ल्याइने श्यालका खुट्टासमेत बरामद भएको जनाकारी दिँदै उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी गरिएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले यसअघि दुईजना भारतीय नागरिकसहित दुर्लभ सेतो बाघको छालासमेत नियन्त्रणमा लिएर वन कार्यालयलाई आवश्यक कानुनी कारबाहीका लागि बुझाएको छ। विश्व वन्यजन्तु कोषले दुर्लभ सूचीमा राखेको सेतो बाघको छाला अन्तर्राष्ट्रिय बजारमा रु ४० लाखमा बिक्री वितरण हुने गरेकाले पनि यसको तस्करी हुने गरेको प्रहरीले बताएको छ। प्रहरीले भारतको राजस्थान जोतपुर बस्ने १९ वर्षीय राजु बागडी र ३५ वर्षीय रामदेव बागडीलाई पक्राउ गरी जिल्ला वन कार्यालयलाई कारबाहीका लागि जिम्मा लगाइसकिएको बताएको छ। रासस

,

0 comments

Write Down Your Responses