गच्छदारले ओलीलाई ध्यानाकर्षण पत्र बुझाए
आठबुँदे सहमति कार्यान्वयन नभएको गुनासो

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार आफ्नै सरकारका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकसँग सरकार गठनका बेला भएको आठबुँदे सहमति कार्यान्वयन नभएको भन्दै गच्छदारसहितको टोलीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्र बुझाउने टोलीमा अध्यक्ष गच्छादारसहित बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादब, उपाध्यक्षहरु गोविन्द चौधरी, जीतेन्द्र देव, आशा चतुर्वेदी र सचिव रवीन्द्र ठाकुर सहभागी थिए ।
ध्यानाकर्षण पत्रमा तराई मधेस थरुहट आन्दोलनमा मारिएकालाई शहिद घोषणा गर्न, झुट्टा मुद्दा चलाइएका व्यक्तिहरुको मुद्दा फिर्ता गर्न, घरबार जलाइएका र सम्पति लुटिएकाहरुलाई उचित क्षतिपुर्ति दिन माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा आठ बुँदेका केही विषयहरु व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषदको निर्णयबाट नै गर्न सकिने प्रकारका भएको भन्दै त्यसलाई तत्काल सम्बोधन गर्न माग गरिएको छ ।
पत्र बुझाउँदै अध्यक्ष गच्छदारले संबिधानलाई पूर्ण समावेशी, समानसपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, संघियताको सीमांकन लगायतका बिषय सम्बोधन गर्न पनि सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।
पत्र बुझ्दै प्रधानमन्त्री ओलीले सरकार गठनका बेला मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सँग भएको आठबुँदे सहमति कार्यान्वयनमा आफु सकारात्मक रहेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । ‘संविधान अनुसार तपाईंहरुका जायज माग पूरा गर्न म सकारात्मक छु’ प्रधामन्त्रीलेे भने ।
मन्त्रिपरिषदबाटै गर्न सकिने कामसमेत भएन : देव
सरकार गठन भएको दुई महिनासम्म पनि सरकारले मधेसका समस्या समाधान नगरेकाले ध्यानाकर्षणपत्र बुझाइएको फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले अनलाइनखबरलाई बताए ।
‘हामी अझै पनि आश्वस्त भएका छैनौं, दुई महिना भइसक्दा पनि क्याबिनेटबाटै निर्णय गरेर हुने कामहरु पनि कार्यान्वयन भइरहेका छैनन्,’ देवले अनलाइनखरबसँग भने- ‘मधेस आन्दोलनमा घाइतेको औषधोपचार, मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति दिने काम क्याबिनेटले गर्न सक्थ्यो, तर यो काम पनि अहिलेसम्म भएको छैन ।’
आफूहरुले प्रधानमन्त्रीलाई समय तोकेर अल्टिमेटम नदिए पनि अविलम्व आठ बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको देवले अनलाइनखबरलाई बताए ।
0 comments
Write Down Your Responses