दोषीमाथि कारबाही नभएसम्म पतिको सद्गत नगर्ने अठोट गरेकी छिन गंगामायाले
काठमाडौं, २ पुस-छोरा कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा दोषीलाई कारबाहीको माग गर्दागर्दै पति गुमाएकी गोर्खा फुजेलकी गंगामायाले दोषीलाई कारबाही नभएसम्म पतिको सद्गत नगर्ने अठोट गरेकी छन्।
आफूलाई वीर अस्पतालमा भेट्न पुगेका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई गंगामायाले यस्तो जबाफ दिएकी हुन्।लामो समयदेखि वीरमै अनशन बसिरहेकी गंगामायाले दोषीलाई कानुनअनुसार कारबाहीको माग गर्दा आफूले पति नन्दप्रसादलाई समेत गुमाएको पीडा पोख्दै सरकारले न्याय दिन ढिलाइ गरे कुनै दिन आफ्नो पनि मृत्यु हुनसक्नेतर्फ शर्मालाई ध्यानाकर्षणसमेत गराएकी छन्।
आयोगका अध्यक्ष शर्माले पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने भन्दै तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आयोग न्याय दिलाउन प्रतिबद्ध रहेको बताउँदै न्याय पाउने अधिकारबाट कसैलाई वञ्चित गर्न नहुने र छिटोछरितो भएमा मात्रै मानवअधिकारको संरक्षण र सम्मान हुने उल्लेख गरेका छन्।
आयोगले उक्त घटनाको अनुसन्धान गरी २०६५ चैत २३ गते दोषीउपर फौजदारी कारबाही चलाउन, पीडित परिवारलाई क्षतिपूर्ति र आफ्नो घरमा पुनः फर्कनका लागि सुरक्षा प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो।
अन्नपूर्ण पोष्ट दैनिकबाट
अन्नपूर्ण पोष्ट दैनिकबाट
0 comments
Write Down Your Responses