‘प्रधानसेनापतिका भाइको पेट्रोलपम्प’मा सिलबन्दी, सञ्चालक पक्राउ (भिडियो सहित )
९ मंसिर, चितवन
वाणिज्य विभागले चितवनको भरतपुर १० रिजाल चोकस्थित अष्टभुजा पेट्रोलपम्पमा सिलबन्दी गरेको छ । पेट्रोलपम्प सञ्चालक खिलकान्त बर्तौलालाई विभागले नियन्त्रणमा समेत लिएको छ ।
कालोबजारी गरेको पाइएपछि विभागका निर्देशक हरिनारायण बेल्बासे नेतृत्वको टोलीले बुधबार विहान पेट्रोलपम्पमा सिलबन्दी गर्दै सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
उक्त पेट्रोलपम्प नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाइ रमिन्द्र क्षेत्रीको जग्गामा बनेको छ । बर्तौलाले भाडामा पेट्रोलपम्प चलाउँदै आएका थिए । तर, स्थानीयले प्रधानसेनापतिको भाइ रमिन्द्र क्षेत्रीको पेट्रोलपम्प भनेर चिन्ने गर्दछन् ।
उपभोक्ताको व्यापक गुनासो आएको थियो । हामीले अनुसन्धान गर्दा पनि कालोबजारी गरेको पाइयो, त्यसैले कारवाही अघि बढाएका हौं, बेलबासेले अनलाइनखबरसँग भने ।
वाणिज्य विभागका निर्देशक बेल्बासेले पेट्रोलपम्प सञ्चालकलाई कालोबजारी सम्वन्धी ऐन र केही सामाजिक अपराध ऐनअन्तर्गत कारवाही गर्ने बताए ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले भने रमिन्द्र क्षेत्रीको नाममा उक्त पेट्रोलपम्प नभएको जानकारी दिए । अंशबण्डा भैसकेकाले अरु कुनै भाइहरुको नाममा जग्गा हुनसक्ने उनले बताए ।


0 comments
Write Down Your Responses