तेल बोकेको आरोपमा मोरङमा एक व्यक्तिलाई जलाउने प्रयास
१० मंसिर, विराटनगर
मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहीबार विहान मोरङको भातिगछ-२ मा एक व्यक्तिलाई पेट्रोल खनाएर जलाएका छन् । बन्दकर्ताले भातिगछ-७ का २८ वर्षीय बब्लु राजवंशीले भारतीय बजारबाट ल्याएको पेट्रोल शरिरमा खन्याइदिएर आगो लगाइदिएका हुन् । सिमावर्ती भारतमा किनेको १५ लिटर पेट्रोल जर्किनमा राखेर उनी मोरङको खोर्साने तर्फ जाँदै थिए । ‘बन्दकर्ताले रोकेर पेट्रोल खोसे र शरिरमा खन्याइदिएर आगो लगाइदिए, बब्लुका भाइ रञ्जितकुमार राजवंशीले भने ।
रन्जितका अनुसार उनीहरुको आफन्तको खोर्सानेमा रहेको मोटरसाइकल ग्यारेजका लागि उनले को १ प २४५० नम्वरको मोटरसाइकलमा पेट्रोल राखी लैजाँदै गर्दा सो घटना भएको हो । मोर्चामा आवद्ध स्थानीय अजय सिंह, जुगेश्वर मुखिया र जितेन्द्र मुखियाले बन्दमा पेट्रोल लान पाइँदैन भन्दै रोकेपछि केहीबेर विवाद भएको थियो ।
बब्लुको शरिरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिए पनि चिकित्सकहरुले प्राथमिक उपचार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् ।
मोरङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले घटनामा अजय सिंह, जुगेश्वर मुखिया र जितेन्द्र मुखिया संलग्न रहेको जानकारी दिए । उनीहरु फरार छन् । फरार भएका तीनै जनाको खोजी कार्य तिव्र बनाइएको उनले जानकारी दिए ।

0 comments
Write Down Your Responses